
सरकारले अन्तराष्ट्रिय समुदायलाई भूकम्प पछिको पुनर्निर्माण महाअभियान माघ २ गतेदेखि सुरु हुने औपचारिक जानकारी गराएको छ । सरकारले नेपालको पुनर्निर्माण कार्यमा आवश्यक सहयोग गर्न पनि दाताहरुसँग आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाएर सहयोगका लागि आग्रह गर्नुभएको हो । उहाँले पुनर्निर्माण महाअभियान रानीपोखरी र बुङमतीबाट सुरु हुन लागेको जानकारी दिनुभायो । प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित जिल्लाहरुमा तत्कालका लागि अत्यावश्यक सामाग्री र्पुयाइने र भौतिक संरचनाहरु निर्माणको काम सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भूकम्प लगत्तै नेपाल सरकारले आयोजना गरेको अन्तराष्ट्रिय दाता सम्मेलनमा सहभागी भई सहयोगको प्रतिबद्धता जनाउनेहरु सबै दाताप्रति कृतज्ञता पनि व्यक्त गर्नुभायो । नेपालको विकासका लागि फेरि पनि अन्तराष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउँनुहुँदै प्रधानमन्त्री ओलीले थप सहयोग पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संविधान जारी पछि असन्तुष्ट पक्षको सीमा अवरोधले गर्दा इन्धन लगायतको निर्माण सम्राग्रीको आपूर्ति सहज नहुँदा पुनः निर्माणको काममा ढिलाई भएको वताउनुभयो । अव असन्तुष्ट पक्षसँगको छलफल समाधान उन्मुख रहेकाले पुनः निर्माणले गति पाउँने उहाँको विश्वास थियो ।