२९ पुष २०७२, बुधबार

नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुले सरकारसँग वर्तमान समस्या समाधानको आधार माग गरेका छन् ।उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वर्तमान संकटको निकास छिट्टै निस्कने र समस्या साधानका लागि सबै विषय सकारात्मक दिशामा गएको बताएपछि कूटनीतिज्ञहरुले त्यसको आधार के हो भनी जिज्ञासा राखेका थिए। परराष्ट्र मन्त्रालयमा मंगलबार अपराह्न काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपालको ‘पछिल्लो राजनीतिक परिस्थिति’ बारे जानकारी गराउन आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री थापाले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता सकारात्मक रहेको र नाका सुचारु गर्न भारत सरकारसँग सम्पर्क भइरहेको बताएका थिए। कार्यक्रममा नेपालका लागि जर्मन राजदूत मथियस मेयेर र अस्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले उपप्रधानमन्त्री थापासँग जिज्ञासा राखेका थिए।

birjung
कार्यक्रमको सुरुमा उपप्रधानमन्त्री थापाले राजनीतिक अवस्था, विदेश भ्रमण, संविधान संशोधन, मधेसी मोर्चासँग जारी वार्ता, पुनर्निर्माण र अन्य विकासनिर्माणको कामका प्राथमिकताबारे जानकारी गराएका थिए ।सचिव शंकरदास वैरागी र प्रवक्ता ताराप्रसाद पोखरेलसहितका परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी कूटनीतिक ब्रिफिङमा उपप्रधानमन्त्री थापाले अत्यावश्यक सामग्री र इन्धान आयातमा अवरोध भएका कारण मानवीय संकट उत्पन्न हुने सम्भावना रहेको बताएका छन् ।

‘आपूर्ति विशेषगरी औषधि, पेट्रोलियम पदार्थ र खाद्यान्नमा अवरोध उत्पन्न हुँदा त्यसले मानवीय संकट ल्याउन सक्छ,’ थापाले भने, ‘भारतीय सरकारका सम्बद्ध अधिकारीसँग छलफल हुँदा हामीले निरन्तर रुपमा हाम्रो यो चासोलाई प्रकट गर्दै आएका छौं ।’वीरगन्ज रक्सौल नाकाबाहेक अन्य नाकाबाट आपूर्ति सहज भएको जानकारी गराउँदै थापाले सबै सीमा चोकपोस्टबाट चाँडै नै आपूर्ति सहज हुने आशा दिएको बताएका छन् ।नेपाल भित्रने कुल सामग्रीमध्ये ७० प्रतिशत हिस्सा रक्सौलाबाट आउँछ ।

संविधान कार्यान्वयन समेत सुरु भइसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री थापाले त्यसको पूर्ण कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग आवश्यक रहेको बताएका छन् ।'(संविधान) कार्यान्वयन सुरु भइसकेको जानकारी गराउन पाउँदा खुसी लागेको छ । शान्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न र संविधान जारी गर्दा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र सद्भावका लागि सबैलाई धन्यवाद दिन्छु,’ थापाले भने, ‘यो संविधान कार्यान्वयनका लागि तपाईंहरुको महŒवपूर्ण सहयोग हुनेछ र त्यो निरन्तर रुपमा प्राप्त गर्नेछौं भनेर म ढुक्क छु ।’

उनले राष्ट्रपति र सभामुख दुवै महिला निर्वाचत गरेर देशले नयाँ युग सुरुआत गरिसकेको बताए । कार्यक्रममा भारतीय र बेलायती राजदूतबाहेक सबै उपस्थित भएका थिए । दुवै देशका प्रधानमन्त्रीले नेपालको संविधानलाई बढी समावेशीकृत बनाइनुपर्ने भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।नागरिक दैनिकबाट

 

LIVE TV