
सन् १९३५ मा इटालीको मिलानमा जन्मिएका लियोनार्दो डेल वेचियो अहिले विश्वका ३८औँ धनी मानिसमा पर्छन् । तर, यो अवस्थामा आउन उनले अनेक दु:खकष्ट भोगे । उनको जीवनमा दु:खका शृंखला उनी जन्मिएको केही महिनामै सुरु भयो ।
उनी जन्मिएको पाँच महिनापछि उनका बाबुको मृत्यु भयो । पाल्न नसक्ने भएपछि उनलाई आमाले लगेर अनाथालयमा छोडिदिइन् । केही समयपछि लियोनार्दोले एउटा ‘मेटल हाउस’मा काम गर्न थाले । सन् १९६१ मा एगोर्दो गएपछि उनको जीवनले यू टर्न लियो । त्यहाँ उनले चस्माको काम गर्न थाले । केही समयमा नै एउटा नयाँ कम्पनी खोले । त्यो कम्पनी खोलेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । २६ वर्षमा सुरु गरेको उनको कम्पनीले अहिले विश्वभर हजारौँलाई रोजगारी पनि दिइरहेको छ । त्यो कम्पनी हो– रे बान चस्मा बनाउने लुक्जोट्टिका । अहिले लियोनार्दोको कुल सम्पत्ति दुई हजार दुई सय करोड डलर भएको फोब्र्स पत्रिकाले केही अघि सार्वजनिक गरेको थियो । विश्वभर उनको कम्पनीका ६ हजार स्टोर छन्, ७३ हजारभन्दा धेरै कर्मचारी छन् ।नयाँ पत्रिकाबाट