
काठमाडौं । कांग्रेस पदाधिकारीको सोमबार बसेको बैठकले रौतहट, कैलाली, सोलुखुम्बुको नयाँ क्रियाशील सदस्यता १३ औ महाधिवेशनका लागि खारेज गरे पनि केन्द्रीय कार्यालय सानेपामा अझै तीन जिल्लाका समूह अनशन, बसेका छन् । पदाधिकारी बैठकको निर्णयका आधारमा सदस्यता खारेज गरिएपछि देउवा पक्षका जिल्ला सभापतिहरुले अनशन जारी राखेको नयाँ पत्रिकामा खबर छ ।
समान व्यवहार गर्न आवश्यक भएको भन्दै सोमबार पदाधिकारी बैठकले सोलुखुम्बका सबै गाविसमा १२ औ महाधिवेशनका क्रियाशील सदस्यहरुको नवीकरण दस्तुर केन्द्रमा बुझाउनेलाई तेह्रौ महाधिवेशनमा भाग लिन पाउने र नयाँ क्रियाशिलतर्फ सबै नामावली तेह्रौ महाधिवेशनका लागि स्थगन गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि बलबहादुर केसीसहितको समूहले अनसन टुंग्याएको छ । तर, सभापति आङगेलु शेर्पा समूहको अनशन जारी छ ।
त्यस्तै कैलालीको एक समूहले अनशन टुंग्याए पनि अर्कोसमूहको अनशन जारी छ ।
रौतहटको चार क्षेत्रका पुराना क्रियाशील सदस्यको तेह्रो महाधिवेशनका लागि नवीकरण सूची मात्र लागू हुने, तर नयाँलाई भाग लिन नदिने निर्णय भएको थियो । यो जिल्लामा दुई क्षेत्रका नयाँ भाग लिन दिइएको छ । तर, अर्को समूहले अझै अनशन जारी राखेको छ ।