२८ पुष २०७२, मंगलवार

 

धार्मिक मान्यता बोकेको रुद्राक्षको अहिले पूर्वमा मोलमोलाई धुमधाम चलिरहेको छ । तौल र रुद्राक्षको मुख अनुसार मोलतोल हुने वहुमूल्य रुद्राक्षको निकासीबारे सम्बन्धित निकाय भने बेखबर छ । पछिल्लो समय रुद्राक्ष व्यापारीहरुको एउटा व्यवसायिक संगठन नै बने पनि वार्षिक के कति परिमाणमा रुद्राक्ष निकास हुन्छन् भन्नेबारेमा भने बेखवर छन् ।

vlcsnap-1158-12-12-02h14m16s187

सुनसरीको धरान हुँदै वार्षिक अरबौंको रुद्राक्ष भारत लगायतका मुलुकमा निकास हुने गर्दछ । पूर्वी पहाडी क्षेत्र भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी जिल्लामा फलेको रुद्राक्ष धरान हुदै निकासी हुने गरेको हो । तर के कति परिमाणमा निकासी हुन्छन् भन्नेबारे भने कसैसँग यकिन जानकारी पाईदैन । अहिले पूर्वको रुद्राक्षको मुख्य उत्पादन हुने भोजपुरको दिङला र संखुवासभाको आसपासमा रुद्राक्षको बजार मौलाएको छ । पछिल्लो समय रुद्राक्ष भारतमा मात्रै नभएर चीनमा समेत निर्यात हुन थालेपछि रुद्राक्षको भाउ पनि आकासिएको छ । यसले गर्दा पनि किसानहरु रुद्राक्ष खेतीतर्फ आकर्षित हुन थालेको सुनसरी बराहक्षेत्र दुधकुण्डका किसान रामकुमार राईले वताए । भोजपुरबाट धरान रुद्राक्ष खरीद विक्रीका लागि भोजपुरवाट आईपुग्नुभएका रुद्राक्ष व्यापारी दिपकुमार राईका अनुसार रुद्राक्षको बजार धराननै हो । तर रुद्राक्ष कसरी र कहाँ निकासा हुन्छ भन्नेबारेमा भने अभाफूहरु समेत अनभिज्ञ रहेको बताए । पचास रुपैयादेखि १५ सय रुपैया सम्ममा पाइने रुद्राक्षको विरुवा किनेर रोप्ने किसानहरुको संख्या पनि बढ्दैछ । त्यसैले अवको केही वर्ष पछि पुर्वमा रुद्राक्षको उत्पादन परिमाण अझ वढने देखिन्छ । यसरी पूर्वमा अहिले फष्टाएको रुद्राक्ष धरान हुदै कुन कुन क्षेत्रमा निकास हुन्छन् त भन्ने यकिन डाटा आफूहरुसँग समेत नरहेको नेपाल रुद्राक्ष व्यावसायी संघका केन्द्रीय सदस्य प्रेमप्रसाद पराजुलीले बताए । राज्यको वेवास्ताका कारण व्यापारी र व्यवसायीबीच आफूखुशी मोल मोलाई हुने भएकोले रुद्राक्षको कारोबारमा निक्कै समस्या देखिएको उनले बताए । वर्षेनी अर्वौ रुपैयाँको कारोबार हुने रुद्राक्षको व्यापार र व्यावसायलाई नियमन गर्न सरकारले नै आवश्यक ऐन र नीति निर्माण गर्नुपर्ने स्वयम् किसानहरुले बताएका छन् । यसो गर्न सके राज्यलाई कर वापत करोडौं रुपैयाँ प्राप्त हुने मात्र होइन रुद्राक्ष खेती गर्दै आएका कृषक र व्यावसायीहरु समेत थप लाभान्वित हुने उनीहरुको अपेक्षा छ ।

LIVE TV