
हिन्दू धर्मका विभिन्न धार्मिक शास्त्रमा समेत कालिगण्डकी नदीलाई पवित्र नदीको रुपमा उल्लेख गरेको पाइन्छ । त्यसैले अझै हिन्दू धर्मालम्बीहरू विभिन्न चाडपर्व सहित सम्भव भएसम्म दैनिकरुपमै यस नदीमा स्नान गरेर आफूलाई धन्य भएको महसूस गर्छन् । तर यस्तो महत्वपूर्ण नदी पनि उचित संरक्षण र मानवीय अतिक्रमणका कारण प्रदुषित बन्दै गएको छ । घरघरबाट संकलन गरिएको फोहोर लगेर नदीमा फाल्ने प्रवृत्ति बढ्दै जाँदा नदी नै कुरुप बन्दै गएको छ । म्याग्दीको सदरमुकाम तथा आसपासका क्षेत्रमा संकलन हुने फोहोर कालिगण्डकी नदीमा फाल्ने प्रवृत्ति अहिले बढ्दै गएपछि पवित्र नदी नै दुर्गन्धित बन्दै गएको छ । ब्यक्तिगत रुपमा संकलन गरेको फोहोर मात्र नभई बेनी नगरपालिकाले संकलन गरेको फोहोर समेत कालिगण्डकीमा सीधा फाल्ने गरिएको छ । बेनी नगरपालिक अन्र्तरगत पर्ने बेनी–गलेश्वर सडकखण्डको रातोपहिरोको कालिगण्डकी किनारा अहिले फोहोर फाल्ने डम्पिङ साइट नै बन्न थालेको छ । यसरी नदीमा फोहोर फाल्दा नदी प्रदुषित हुन गई पानीको माध्यमबाट मानव स्वास्थ्यमाा समेत विभिन्न असरहरु देखा परेपनि सरोकारवाला निकायले भने चासो देखाएका छैनन । फोहोरले पैदलयात्री, धार्मिकस्थल गलेश्वरमा दर्शन गर्न जाने भक्तजनलाई स्नान गर्न समेत समस्या भएको छ । सडक नजिक फोहोर फाल्दा त्यसले नकारात्मक सन्देश दिने भएकाले सडक तथा बस्तीभन्दा टाढा लगेर फोहोर ब्यवस्थापन गर्न स्थानीयले माग गरे पनि सुनुवाई भएको छैन् । सरकारी निकायबाटै जथाभावी फोहोर फाल्ने गरेकाले पनि आसपासका क्षेत्रका बासिन्दाले त्यसको सिको गरिरहेका छन् । बेनीबजारमा दैनिक ५ देखि ७ ट्रयाक्टर सम्म फोहोर संकलन हुने गरेको छ ।
यसका विरुद्ध अधिवक्ता चिरञ्जीवी शर्माले पुनरावदेन अदालतमा मुद्धा समेत हालेका थिए । तर त्यसको ब्यवहारिक कार्यान्वयन हुन सकेको छैन । नदीमा फोहोर फाल्ने कार्य रोक्न पटकपटक आन्दोलन र दवाव दिएपनि सम्बन्धित निकायले डम्पिक साईटको विकल्प दिन सकेको छैन । यसैबीच बेनी नगरपालिकाले आइतबार सम्पन्न तेस्रो नगर परिषद्बाट समेत डम्पिङ साईटको खोजी भइरहेको प्रस्ताव सहितको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत नेत्र पौडेलले नगरपालिकाले धेरै विकल्पको खोजीको प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो । राज्यका निकायले जनतालाई जथाभावी फोहोर फाल्न रोकेर नदी संरक्षणमा लाग्नपर्नेमा उल्टै फोहोर फाल्ने गरिएकाले यसले सफा सहर बनाउने सरकारी अभियान नारामै सीमित रहन पुगेको छ । यस्तै धार्मिक र सामाजिक दुवै दृष्टिले महत्वपूर्ण कालिगण्डकी नदी संरक्षणका लागि म्याग्दीका राजनीतिक सहित अन्य सरोकारवाला निकायले समेत फोहोर ब्यवस्थापनमा दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।