
पाँच महिनादेखिको मधेश आन्दोलन र त्यसपछिको भारतीय नाकाबन्दीको प्रभाव मुलुकभर देखिएको छ । अत्यावश्यकीय सामग्रीको अभावमा मानिसहरु मात्र होइन गाइबस्तुहरु पनि कष्टकर जीवन बिताउन बाध्य छन् । भारतीय नाकाबन्दीका कारण पवित्र पाशुपत क्षेत्र वरपर छाडिएका गाईबस्तुहरुको हरिबिजोग नै भएको छ ।पशुपति मन्दिर धार्मिक आस्थाको केन्द्रबिन्दु हो । अहिले पाशुपत क्षेत्रमा गाईबस्तुहरुको हरिबिजोक भएकोे छ । जाडोको समयमा अत्यावश्यक पराल तराई क्षेत्रबाट आउन छाडेपछि यस क्षेत्रमा आश्रित गाईबस्तु भोकभोकै हुने गरेका छन् । गाई बाच्छा बचाउ तथा समाज विकास अभियानका सदस्यहरु गाईबस्तु भोकभोकै भएको देख्न बाध्य छन । पशुपति क्षेत्र वरिपरि छाडिएका गाईबस्तुलाई जम्मा गरेर हेरचाह गर्न खोज्दाखोज्दै पनि पराल जुटाउन नसकिएकोमा अभियानका उपाध्यक्ष विनिता रम्तेल निकै दुःखी हुनुभयो ।
उँहाले गाईबस्तुबाट आफनो विभिन्न आर्थिक लाभ उठाएपछि वा आफनो आवश्यकता पुरा गरेपछि सडकमै छाडने र धार्मिक स्थल वरिपरि छाड्ने सम्बन्धित नागरिक एवं व्यवसायीहरु प्रति आक्रोश समेत पोख्नु भयो । धार्मिक स्थलमा भएका गाई बस्तुहरुलाई पशुपति क्षेत्र विकास कोषले जग्गा दिएर राम्रो काम गरेपनि गाईबस्तुको लागि आवश्यक दानापानी उपलब्ध गराउन नसकेको पत्रकार अर्जुन लामिछानेको आरोप छ । उँहाले व्यवस्थित गर्न थालिएको गाईबस्तुलाई दश रोपनी जग्गामा सिमित राखेर मार्न नहुने प्रष्ट पार्नुभयो । महत्वपुर्ण धार्मिक स्थलमा जथाभावी छाडिएका गाईबस्तुहरुले पर्यटकहरुमा नकारात्मक असर पार्ने भएकाले सरोकारवाला संघसस्था र अधिकारीहरुले ध्यान दिनु जरुरी छ । सडक पेटीमा छाडिएका गाईबस्तुलाई जम्मा गरेर व्यवस्थित गरेको भन्दैमा गाईबस्तुलाई भोकभोकै मार्न नहुने पशुअधिकारबादीहरुको भनाइृ छ ।