२८ पुष २०७२, मंगलवार

मधेसी दलको आन्दोलन एक साता यता मत्थर हुदै गएको छ । पाँच महिनादेखि जारी मधेस आन्दोलनको केन्द्रविन्दु बनेको वीरगन्जको जनजीवन पनि एक साता यता देखि सहज बन्दै गएको छ । रक्सौल वीरगन्ज नाकामा मधेसी दलको धर्ना र नाकाबन्दी जारी रहेपनि वीरगन्जका बजार र पसलहरु एक साता यता सहज रुपमै खुल्न थालेका छन् । पुष १९ गते संघीय मधेसी गठबन्धन र खुद्रा व्यपारी संघ बिच भएको छलफलमा व्यपारीहरुले बिहान देखि दिउँसो दुई बजेसम्म बजार पसल बन्द गर्ने लिखित सहमति नै जनाएका थिए । तर सहमति भएको दुइ दिन बित्न नपाउदै वीरगन्जका बजार र पसलहरु बिहानदेखि बेलुकासम्म नै खुल्न थालेको छ । व्यपारीहरुले सहमति तोडेर बजार पसल खोले पनि आन्दोलनरत दलका नेता कार्यकर्ताहरुले कुनै अबरोध गरेका छैनन् । यस्तै वीरगन्जमा मालवाहक ठूला सवारी सधानहरु ठप्प रहे पनि साना सवारी साधनहरु भने निर्वाध रुपमा चलेका छन् । मधेसी दलको बन्दहडताल शुरु भएदेखि नै बन्द भएका टाटासुमो र सिटिराइड बसहरु एक साता देखि भने सन्चालनमा आएका हुन् । वीरगन्ज काठमाण्डौ रुटमा चल्ने टाटासुमो गाडीहरु नाकामा आन्दोलनकारीहरुले धर्ना दिएकै स्थल नजिकबाट दिनभर यात्रु ओसार्दै आएका छन् । यस्तै सिटिराइड बस , स्कुल बस , टयाम्पु, टाँगा, इरिक्सा, नीजी कार भ्यान, जिप, टयाक्टरहरुको सन्चालनमा आएपनि आन्दोलनकारीहरुले कुनै अवरोध गरेका छैनन् । रातिको समयमा वीरगन्जका ट्रान्सपोर्टहरुबाट ट्रक र कन्टेनरहरुले सामान ओसार्दै आएका छन् । यस्तै वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहाबाट पनि हरेक दिन दुइ सय ट्रकको हाराहारीमा मालसामान विभिन्न गन्तव्यमा पठाउने काम भइरहेको छ । आन्दोलन, बन्दहडताल, प्रदर्शन र झडपका कारण तनावग्रस्त बनेको वीरगन्ज एक साता देखि शान्त बनेपछि यहाका सर्वसाधरण र व्यपारीहरुले राहत महसुस गरेका छन् ।

LIVE TV