२८ पुष २०७२, मंगलवार

भारतबाट इन्धन आयात केही सहज हुन थालेपनि काठमाडौंमा भने कम मात्र भित्रिएका छन् । केही दिनयता भारतबाट दैनिक झण्डै एक सय वटा इन्धनका गाडी नेपाल भित्रिएपनि झण्डै १० वटा गाडी मात्र काठमाडौं आउने गरेका छन् । भन्सार विभागका प्रमुख शिशिर कुमार ढुंगानाका अनुसार सोमबार मात्रै डिजेल ४० तथा पेट्रोल ११ ट्यांकर र ४५ वटा ग्यास बुलेट भारतबा नेपाल भित्रिएका छन् । भारतमा बिदा हुने भएकाले शनिबार र आइतबार इन्धनका गाडी कम आएपनि अरु दिन सामान्यता ७० देखि सय वटा गाडी नेपाल आउन थालेको उहाँले बताउनुभयो । तीन दिनदेखि काठमाडौंमा इन्धन बोकेका गाडी कम आउन थालेको नागढुङ्गा ट्राफिक प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गएको २४ घण्टामा तीन ट्यांकर डिजेल र तीन बुलेट ग्यास, हवाइ इन्धन २ तथा पेट्रोल बोकेको एउटा ट्यांकर काठमाडौं आइपुगेका छन् । यस्तै विभिन्न कम्पनीका ६ हजार ३ सय ६ वटा ग्यास सिलिन्डर पनि काठमाडौं भित्रिएको उहाँले बताउनुभयो ।नेपाल आयल निगमका अनुसार पहिलेको तुलनामा डिजेल केही सहज रुपमा आयात हुन थालेपनि पेट्रोल भने अझै सहज हुन सकेको छैन । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार भारतको बेतालपुर डिपोबाट पेट्रोलको परिमाण बढाउने सहमति भएपनि त्यसो नभएको बताउनुभयो ।पेट्रोल नबढेपनि डिजेल आयात बढेपछि निगमले देशभरी कै पेट्रोल पम्पमा बढाएर बिक्री गर्ने तयारी गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अब निजी बिक्रेतालाई पनि डिजेल उपलब्ध गराउने निगमको योजना छ ।

LIVE TV