
काठमाडौँ। नुवाकोटको पहिचानका रुपमा स्थापित हुँदै गएको गोरु जुधाई यस पटक पनि आगामी माघ १ गते आयोजना गरिने भएको छ ।
प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन तारुका र बेत्रावतीमा परम्परागत रुपमा मनाइँदै आएको गोरु जुधाई पर्वलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो । सामाजिक संस्कारको रुपमा झण्डै शताब्दीअघिदेखि नुवाकोटको तारुका–५ कटरबोट, चन्दनीमा र एक दशक अघिदेखि नुवाकोट र रसुवाको बेत्रावतीमा गोरु जुधाई मेला गरिँदै आएको छ ।
यसपटक तारुकामा १५ हल र बेत्रावतीमा आठ हल गोरु जुधाइने मेला आयोजक रसुवा–नुवाकोट पर्यटन समाजले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गोरु जुधाई प्रतियोगिताका लागि जनकराज ढुङ्गानाको अध्यक्षतामा नौ सदस्यीय माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिसमेत गठन गरिएको आयोजकले जनाएको छ ।
बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ भएको र भान्जालाई मावली आउँदा स्वागतका लागि पहिलो पटक यहाँ गोरु जुधाईएको र त्यही वर्षदेखि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको जानकारहरु बताउँछन् । विगतमा कोलडाँडा, चन्दनी, ठूलोपोखरीलगायत ठाउँमा छरिएर जुधाईने गोरु जुधाई विगत पाँच वर्षदेखि तारुका–५ कटरबोटमा एकीकृत र व्यवस्थित रुपमा मनाउन थालिएको छ ।
मेला अवलोकनका लागि छिमेकी जिल्लाका वासिन्दा तथा विदेशी पर्यटक समेत पुग्ने गरेका छन् । पत्रकार सम्मेलनमा व्यवस्थापन समिति संयोजक जनकराज ढुङ्गानाले मेलालाई व्यवस्थित र भव्य बनाउन सुरक्षा, स्वास्थ्य शिविरलगायत आवश्यक सबै व्यवस्था गरिने बताउनुभयो । “गोरुपालक किसानलाई यसै वर्षदेखि बीमाको व्यवस्था गरिएको छ” उहाँले भन्नुभयो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्चका पूर्व अध्यक्ष शिव लामिछानेले गोरु जुधाईलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सुरु गरिएको बताउनुभयो । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले मौलिक संस्कृति बोकेको परम्परागत गोरु जुधाउने पर्वलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न बोर्डले पूर्णरुपमा सहयोग गर्ने वचन दिनुभयो ।
गोरु जुधाईबाहेक मेलामा स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रमसमेत गरिने बताइएको छ । रासस