
पर्यटन व्यवसायीहरुको छाता संगठन स्कल नेपाल काठमाण्डौंले भुकम्पबाट क्षतिग्रस्त उत्तरी दोलखामा पक्की विद्यालय भवन निर्माण गरेको छ । भूकम्पका कारण विद्यालय भवनहरु क्षतिग्रस्त बनेपछि पठन पाठन कार्य समेत प्रभावित हुँदै आएको थियो । सञ्चारमाध्यमहरुमा केही महिना अघि जिल्लाको १७ विद्यालय सञ्चालनमा कठिनाई भन्ने समाचार प्रकाशित भए पछि स्कल नेपालले विद्यालय निर्माण गर्न चासो देखाएको थियो । स्कल नेपालले ४ लाख रुपैयाँको लगानीमा उत्तरी दोलखाको दुर्गम सुरी–८, गुरुम्फीस्थित नवज्योती निम्न माध्यमिक विद्यालयमा ढुङ्गा माटोद्वारा ३ कोठे पक्की भवन निर्माण गरेको हो । एक कार्यक्रमकाबीच भवन हस्तान्तरण गर्दै स्कल नेपाल काठमाण्डौंका अध्यक्ष भोलाविक्रम थापाले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विद्यालय निर्माण गरिएको जानकारी दिनुभयो । जिल्लामा उच्च मावि ४१, मावि ४१, निमावि ७२ र प्रावि २ सय १६ गरी ३ सय ७० विद्यालय रहेकोमा सो विद्यालयले कुनै पनि सहयोग नपाउँदा विद्यालय सञ्चालन गर्न सकेको थिएन ।
विद्यालयमा भूकम्पले क्षति पुर्याएपछि ४ महिनासम्म छिमेकी विद्यालयमा शरण लिएर कक्षा सञ्चालन गरिदै आएको थियो । अहिले विद्यालयको पक्की भवन निर्माण भएसँगै १ सय २० विद्यार्थीहरुको पठनपाठनमा समेत आंशिक सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन ओलीले जानकारी दिनुभयो । विनाशकारी भुकम्पका कारण दोलखामा रहेका ३ सय ७० विद्यालयमध्ये २ सय ६८ विद्यालयको ८ सय २६ भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।