
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमंत्री विजय गच्छेदारले नाकाबन्दी र बन्द हडताल गरेर जनताको भावनासंग खेलवाड नगर्न मधेसीवादी दलहरुलाई आग्रह गर्नुभएको छ । उहाँले सीमा क्षेत्रमा नाकावन्दी गर्नुको औचित्य नरहेको पनि प्रष्ट पार्नुभएको छ ।
सोमवार विराटनगरमा संचारकर्मीहरुसंग उपप्रधानमंत्री गच्छेदारले कुनै पनि समस्याको समाधान वार्ता र सम्वाद गर्दै संसदबाट निकाल्नुपर्नेमा सीमाक्षेत्रमा नाकाबन्दी र बन्द हडताल गर्नुको औचित्य नभएको धारणा व्यक्त गर्नुभयो । उहाँले नाकाबन्दीका कारण मुलुकलाई संकटमा पारेको मात्र नभई गरीब जनतालाई जीवनयापनमा समेत समस्यामा पारेको गुनासो गर्नुभयो । उपप्रधानमंत्री गच्छेदारले मधेसमा ३ प्रदेश सहित ८ प्रदेशले मात्र सीमांकनको समस्या समाधान हुने धारणा व्यक्त गर्नुभयो । उहाँले झापा, मोरङ र सुनसरीलाई कुनै पनि हालतमा २ नम्बर प्रदेशमा मिलाउन नसकिने बताउदै झापा, मोरङ र सुनसरीमा सिरहा, सप्तरी जिल्ला गाभेर ८ औं प्रदेश बनाउनुपर्ने माग गर्नुभयो ।
एक प्रश्नको जवाफमा उपप्रधानमंत्री गच्छेदारले सीमांकनका लागि विज्ञहरुको आवश्यकता नभएको बताउनु भयो । उहाँले सीमांकनको मुद्दा राजनैतिक मुद्दा भएकाले जनताका प्रतिनिधि राजनीतिक दलहरुले नै सीमांकनको समस्या टुङ्ग्याउने जानकारी दिनुभयो ।