
जब ग्यास आयो भन्ने हल्ला आउछ ग्यास अभावमा तड्पिएका सर्वसाधारण डिलरमा तछाडमछाड गरेर लाम लाग्ने गर्छन् । ग्यास अभावका कारण महिनौ चुल्होमा आगो बाल्न नपाएका उपभोक्ताहरु थोरैले आधा सिलिण्डर ग्यास लिएर जान्छन् भने धेरैले लाइनबाटै ग्यास सिद्धियो भनेर फर्कनुपर्ने बाध्यता छ ।
सोझा साधा सर्वसाधारणले ग्यास नपाइ फर्किरहदा महंगोमा भने ग्यास खुल्लम खुल्ला बिक्रि भइरहेको छ । महिनौ लाम लागेका ग्राहकले ग्यास नपाइरहेका अवस्थामा व्यापारीहरुले भने महंगो मुल्यमा ग्यास बिक्री गरिरहदा समेत प्रशासन मौन वसेको छ । व्यापारीले ग्याँसको अभाव देखाउँदै महंगोमा ग्यास बेच्दा पनि प्रशासन मौन बसेको भन्दै धरानका उपभोक्ता आक्रोशित बनेका छन् । एक महिना अघि देखि ग्याँस डिलरमा रकम बुझाउँदा समेत घण्टौँ लाइन बस्दा पनि पालो नआएको प्रति सरकारको निकम्मापन रहेको उपभोक्ताहरुको गुनासो छ । डिलर सञ्चालकसंगको मिलेमतोमा पहुँचवाला व्यक्तिहरुले एक जनाले १५ वटा सम्म ग्यास लाने गरेको र वजारमा २ हजार देखि २५ सय सम्म बिक्रि गर्ने गरेको उपभाक्ताको गुनासो छ ।
ढुवानीको समस्याले ग्यासको सहज आपुर्ति हुन सकेको छैन तर आपुर्ति भएको समयमा ग्यास व्यापारीले आधा मात्रै ग्यास उपभोक्तालाई दिएर आधा चै लुकाउने गरेको स्थानीयको गुनासो छ ।
बजारको ग्यासको अभाव हुन थाले पछि व्यापारीहरुले सिलिण्डर सहित ग्यास खरिद गर्न उपभोक्तालाई बाध्य बनाउछन् । मंहगो मुल्यमा ग्यासको बिक्रि वितरण गर्ने गरेको पाईए पनि प्रशासन मौन रहेको छ । कसैले सुचना दिए कालोबजारी गर्नेलाई कारवाही गर्ने ईलाका प्रशासन कार्यालय धरानका प्रमुख सिताराम कार्कीले बताउनुभयो । विगत २ महिना देखि अभाव झेलिरहेका उपभोक्ताहरुलाई ग्याँस कम्पनीका कारण बजारमा सहज आपूर्ति हुन नसकेको व्यापारीहरुको दावी छ ।