
भारतको हरियाणास्थित हिंसार जिल्लाअन्तर्गतको बरवालमा रहेको सतलोक आश्रममा तत्त्वदर्शी सन्त सदगुरु रामपाल महाराजको नियमित पाक्षिक सत्संग सुन्न गएका सात नेपाली नागरिक १३ महिनादेखि जेलमा छन् । हरियाणास्थित हिंसार जेलमा थुनिनेमा सुनसरी इटहरीका लक्ष्मण बस्नेत, महेन्द्रनगर धनुषाका ईश्वर श्रेष्ठ, गोंगबु काठमाडौंका राजकुमार गिरी, सिरहा सिकरौनका वियज साह, गोलबजारका विनोद यादव, महेन्द्रनगरका योगेन्द्र चन्द र उर्लाबारी मोरङका सुरेश राई छन् ।
रामपाल महाराजको नियमित पाक्षिक सत्संग सुन्न गएका हजारौँ नेपालीमध्ये २४ जना पक्राउ परेका थिए । २७ कात्तिकमा रामपाल महाराजको सत्संग भइरहेका वेला हरियाणा चन्डीगढ प्रहरी र केन्द्रीय प्रहरी बलले धरपकड गरेको थियो । त्यहाँबाट प्रहरीले २४ नेपालीसहित नौ सय ४० तीर्थयात्रीलाई पक्राउ गरेको थियो । १७ जना नेपाली भने जमानतमा रिहा भइसकेका छन् । जमानतमा रिहा भएकाहरू पनि प्रत्येक १५ दिनमा तारेखमा पुग्नुपर्छ । प्रवचन सुन्न गएका नेपाली जेलमा बस्दासमेत उनीहरूको रिहाइको पहल नभएकोमा आफन्त र अधिकारकर्मीले सरकारको आलोचना गरेका छन् । ‘छापामार शैलीमा आएका करिब एक लाख भारतीय प्रहरीले आश्रमलाई घेराबन्दीमा हालेर अमानवीय व्यवहार गरे,’ जेलमा परेर जमानतमा रिहा भएका भक्तपुर मध्यपुर ठिमीका उमराज ढकालले भने, ‘हरियाणा प्रान्तीय सरकारको प्रहरीले एक्जाभेटर, क्रेन र ग्लाइडरलगायतका यन्त्रहरूसहित आश्रमलाई घेराबन्दी गरेका थिए ।’ उनी एक लाख भारु बुझाएर रिहा भएका हुन् । अधिकारकर्मी सुबोधराज प्याकुरेल जुनसुकै बहानामा भए पनि पक्राउ परेका सात नेपालीको रिहाइ एक मात्र मिसन बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘प्रवचन सुन्न गएका नेपालीलाई विनाकारण जेलमा राखिरहनु अन्तर्राष्ट्रिय कानुनविपरीत छ ।’ परिवारद्वारा नि:सर्त रिहाइको माग भारतीय जेलमा रहेकाका परिवारले आइतबार पत्रकार सम्मेलन गरेर नि:सर्त रिहाइको माग गरेका छन् । पक्राउ परेको १३ महिना बित्दा पनि सरकारका तर्फबाट रिहाइको पहल नगरिएको भन्दै उनीहरूले रोष प्रकट गरे । भारतको हरियाणास्थित हिंसार जेलमा रहेका राजकुमार गिरीका दाजु श्याम गिरीले भारतीय जेलमा रहेका आफ्नो भाइको रिहाइको अपिल गरे । उनले भने, ‘मेरो भाइ कुनै अपराधी होइन, प्रवचन सुन्न गएको हो । उसको मुख हामी हेर्न चाहन्छौँ ।’ परिवारका सदस्यले तत्काल सरकारले पहल नगरे अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी पनि दिएका छन् । त्यस्तै, तारेख खेपिरहेकाहरूले आफूहरूलाई अनावश्यक झन्झटबाट मुक्त गरिदिन माग गरेका छन् । – नयाँ पत्रिका