२६ पुष २०७२, आईतवार

उपप्रधानमन्त्री तथा भौतिक, पूर्वाधार एवं यातायातमन्त्री विजयकुमार गच्छेदारले तराई मधेसमा दुई प्रदेश असम्भव रहेको दावी गर्नुभएको छ । तराईमा तीन प्रदेश भएमात्र समस्या समाधान हुन सक्ने उहाँको भनाइ छ ।आईतवार राजधानीमा आयोजित कार्यक्रममा धारणा राख्दै उपप्रधानमन्त्री गच्छेदारले मधेसमा दुई प्रदेश असम्भव भएको बताउँनुभएको हो । झापा, मोरङ्ग र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनैपर्ने अतिवादी कुरामा त्यहाँका जनता सहमत नरहेको उल्लेख गर्दै उहाँले तराईमा तीन सहित आठ प्रदेश बनाए मात्र सबैको माग संबोधन हुने दावी गर्नुभयो ।सहमतिको लागि आफूले मध्यममार्गी बाटो लिंदा निकै आलोचित हुनुपरेको उल्लेख गर्दै गच्छेदारले संविधानसभाबाट शहीदको सपना र जनआकांक्षा बमोजिम बनेको संविधान उत्कृष्ट भएकोले त्यसमा केही विषय बाहेक आफूहरुको समर्थन रहेको स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री गच्छेदारले नाकाबन्दीले उत्पन्न संकट वार्ताबाटै समाधान गर्नु पर्नेमा जोड दिदै मुलुकले धेरै क्षति व्यहोरिसकेकोले अब मुलुकले संघर्ष र अवरोध धान्न नसक्ने तर्फ सचेत गराउनुभयो ।आफूले केरुङ नाकासम्म बाटो बन्न ढिलाई गरेको भन्ने आरोपको खण्डन गर्दै गच्छेदारले गल्छीदेखि बेत्रावतीसम्मको सडक दुई लेन बनाउन सडक विभागले टेण्डर प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो ।

LIVE TV