२६ पुष २०७२, आईतवार

पछिल्लो समय चिनियाँ महिलामा चरम निराशा देखिएको छ । केही दिनअघि आफ्नो ब्वायफ्रेन्डबाट असन्तुष्ट बेइजिङकी एक युवतीले असफल आत्महत्या प्रयास गरिन् । ब्वायफ्रेन्डसँग झगडा परेपछि ती युवती बिल बोर्डमा चढिन् र हाम फालेर मर्ने धम्की दिन थालिन् । मान्छेहरूको भीड लाग्यो । उनीहरूले युवतीलाई तल झर्न अनुरोध गर्न थाले ।

hatkadi

केहीबेरमा त्यहाँ प्रहरी आयो र उनीसँग कुरा गर्ने कोसिस गर्‍यो । एक अफिसरले ती युवतीसँग कुरा गर्दै गर्दा एउटा हतकडी उनको र अर्काे आफ्नो हातमा लगाउन भ्याइहाले । जब प्रहरीले युवतीको हातमा हतकडी बाँधे, त्यतिवेला उनी आत्तिइनन् । उनले सोचिछिन् कि उनीहरूले अब आफूलाई मर्न दिँदैनन् । त्यसपछि उनले हत्तपत्त त्यहाँबाट हाम फालिन् । तर, एउटा हात हतकडीमा अड्किएकाले उनी तल खस्न नपाएर झुन्डिरहिन् । प्रहरीहरूले उनलाई माथि तान्ने कोसिस गरिरहे । प्रहरीले ती युवतीलाई बचाउनका लागि उनको कम्मरमा डोरी बाँधेर माथि तानिरहे । प्रहरी प्रवक्ताले झुन्डिरहेकी ती युवतीलाई बचाउन निकै साहसिक काम भएको बताए ।

उनी किन मर्न चाहन्थिन्, स्पष्ट कारण भने खुल्न सकेन । पछिल्ला दिनमा चीनमा यस्ता घटना धेरै भइरहेका छन् । केही दिनअघि मात्रै हार्बिन गाउँमा बस्ने अर्की एक युवतीले बार्दलीमा चढेर हाम फाल्दै थिइन् । २१ वर्षीया ती युवती प्रेमीसँग झगडा परेकाले आत्महत्या गर्न तम्सिएकी थिइन् । उनलाई बचाउन प्रेमी अर्काे घरको छतमा पुगे र प्रेमिकालाई नमर्न अनुरोध गरे । दाओली जिल्लाको उक्त अपार्टमेन्टमा देखिएको उनीहरूको यो नाटक हेर्नका लागि मान्छेहरूको भीड लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार ती युवती कपडा सुकाउनका लागि बाँधिने पातलो तारमा झुन्डिएकी थिइन् ।

– नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV