
सवारीको चापसंगै धरानमा अव्यवस्थित पार्किङले शहर नै अस्तव्यस्त बनेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुनसरीले विभिन्न समुदायसंग मिलेर ट्राफिक व्यवस्थापनलाई सहज बनाउदै लगेको छ । यस्को लागि ट्राफिक तरकारी बजारलाई उपयुक्त स्थलको रुपमा प्रयोग गर्न थालेको छ । धरानका सबै क्षेत्रमा सवारी जाम नहोस् भन्ने उद्देश्यका साथ पार्किङलाई व्यवस्थित गर्दै लगेको ट्राफिकले धरानको अत्यन्तै व्यस्त मानिएको धरानको मुटु भानुचोकमा रहेको पालिका तरकारी बजारमा समेत वान वे पार्किङको काम शुरु गरेको छ । सब्जी खरिद गर्ने सर्वसाधारणले सडकको दुवै तर्फ सवारी साधन राखेर जाम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै धरान ९ का सर्वसाधारणसंग सहकार्य गरेर त्यस स्थानमा वान वे पार्किङ थालेको हो । ट्राफिक व्यवस्थापनले सवारी चापलाई धेरै हदसम्म कम गर्न सक्ने भएकोले पनि एकतर्फी पार्किङलाई कडाइका साथ लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो ।
सहायक निरीक्षक कार्कीले बार्षिक साना तथा ठूला गरी हजारौको संख्यामा सवारीको साधनमा वृद्धि भएपनि सडकको अवस्था १० बर्ष अगाडिकै रहेकोले पनि व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो । यता यस कार्यमा धरानका टोलबासी समेत सक्रिय रहेका छन् । उनीहरु समेत आफ्नो स्थानमा ट्राफिक जाम नहोस र दुर्घटना नहोस् भनेर सचेत भएका हुन् । धरान ९ का वडा नागरिक मञ्चका अध्यक्ष रत्न कटुवालले धरानलाई दुर्घटनामुक्त शहर बनाउनका लागि टोलबासीले निर्णय गरी ट्राफिक प्रहरीलाई सघाएको बताउनुभयो । एकतर्फी पार्किङ्गको काम गरेपछि अहिले सब्जी बजारमा सर्वसाधारणलाई आवातजावत मात्र सजिलो भएको छैन दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुगेको सर्वसाधारण, व्यापारीहरुले महसुस गरेका छन् ।