
मधुमेह तथा उच्च रक्तचापका बिरामीलाई विशेष सेवा दिने उद्देश्यका साथ काठमाडौंको बालाजु उद्यानमा आयोजना गरिएको एकदिने निःशूल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित भएका छन् । शिविरमा निशुल्क औषधि वितरण गर्नुका साथै विशेष परामर्श पनि दिइएको थियो । शिविरको बायोडाइग्नोस्टिक प्याथ ल्याब, सुप्रन प्याथोलोजी क्लिनिक, फरइभर वेलनेश तथा शितलामाई मन्दिर भजन मन्डली बालाजुले संयुक्त रुपमा आयोजना गरेका हुन् । शिविरमा बालाजु र त्यस आसपासका दुई सयजनाभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशूल्क औषधि वितरण गरिएको थियो । शिविरमा मोटोपनाबाट ग्रसित केहीलाई भने विशेष परामर्श पनि उपलब्ध गराइएको थियो ।
विशुद्ध मानवीय सेवाभावले आयोजना गरिएको यो शिविरमा बढीभन्दा बढी बिरामीलाई सेवा दिने उद्देश्य राखिएको आयोजकको भनाई छ । आगामी दिनमा अन्य ठाउँमा पनि निःशूल्क स्वास्थ्य शिविर आयोजना गर्ने तय भएको आयोजकका तर्फबाट प्रेमा लामाले बताउनुभएको छ ।