
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान संशोधन विधेयक पास भएपछि मधेस आन्दोलनको माग सम्बोधन हुने र नाकाबन्दी हट्ने धारणा राख्नु भएको छ । उहाँले सीमांकनको विषयमा हतार गर्न नहुने पनि प्रष्ट पार्नुभयो । शुक्रवार विराटनगरमा संचारकर्मीहरुसंग उपसभापति पौडेलले सीमांकनको मुद्दा राजनीतिक तहबाटै समाधान गर्ने विषय भएकाले यसको सम्बोधन राजनैतिक समिति मार्फत गर्नुपर्ने बताउनु भयो । उहाँले सीमांकनको कुरामा हतार गर्न नहुने भन्दै मधेसी मोर्चासंग वार्ता सकारात्मक बन्दै गएकाले चाडै नै मुलुकको समस्या समाधान हुने जानकारी समेत दिनुभयो ।उपसभापति पौडेलले अहिले नेपाली कांग्रेस सरकार गिराउने र भत्काउने खेलमा नलागेको बताउदै कालोबजारी नियन्त्रण गर्न र आपूर्ति व्यवस्था सहज बनाउन सरकार क्रियाशिल हुनुपर्ने सुझाव दिनुभयो । नेपाली कांग्रेसको सभापति पदमा उठ्ने बारे सोधिएको प्रश्नमा उपसभापति पौडेलले आफुहरु महाधिवेशनको तयारीमा रहेको हुनाले सहमति र सहकार्य गरेर उम्मेदवारी घोषणा गर्ने जानकारी दिनुभयो ।