२४ पुष २०७२, शुक्रबार

पाल्पा। इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने उद्देश्यले पाल्पाको रामपुरस्थित दरैठाटी उच्च माविद्वारा सञ्चालित श्रीमद्भागवत् कथा प्रवचन तथा धनधान्याञ्चल ज्ञानमहायज्ञमा आजसम्म रु दुई करोड ४३ लाख ४१ हजार ७१८ सङ्कलन भएको छ । महायज्ञमा नगद दानभन्दा जग्गा दान गर्ने बढी रहेका छन् ।

Mahayagya_havankund

रामपुर नगरपालिका–९, विजयपुरका ज्ञाननाथ आचार्य, दुर्गाप्रसाद आचार्य र यज्ञप्रसाद आचार्यको परिवारबाट सबैभन्दा बढी रु ४० लाख ५० हजार मूल्य बराबरको जग्गा दान गरिएको छ ।

विसं २०२२ मा तत्कालीन रामपुर– ८ सानीअमराईमा रहेको दरैठाँटी उमावि २०३२ सालमा विजयपुरका आचार्य परिवारले आफ्नै जग्गा दिएर विद्यालय खडा गर्न सहयोग रेको महायज्ञ मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।

रामपुर प्याक्लुकका कृष्णप्रसाद अर्याल र रानीवास विद्यालयका पूर्व विद्यार्थी इन्जिनियर अरुण अर्यालले संयुक्त रुपमा रु २५ लाख २५ हजार ५५५ बराबरको जग्गा तथा रामपुर विजयपुरका ढालबहादुर थापा, श्यामबहादुर थापा, हेमबहादुर थापा र रमणबहादुर थापा परिवारले रु १२ लाख ७५ हजार १०१ मूल्यको जग्गा दान गर्नुभएको छ ।

त्यसैगरी, विजयपुरका बोधराज भण्डारीले रु ११ लाख ११ हजार १११ मूल्य बराबरको जग्गा, रामपुर– ९ का विष्णुप्रसाद भट्टराईले रु १० लाख एक हजार १११, रामपुर मैदानबारीका खेमराज ढुङ्गानाले रु सात लाख २१ हजार एक दान गर्नुभएको छ ।

महायज्ञमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी, अर्घाखाँची, बुटवल, काठमाडौँ, चितवन, पोखरालगायतका स्थानबाट कथा श्रवण गर्न र दान गर्न श्रद्धालु भक्तजन आएको विद्यालयका प्राचार्य सुन्दरप्रसाद देवकोटाले बताउनुभयो । रासस

 

LIVE TV