२४ पुष २०७२, शुक्रबार

नयाँ संविधान निर्माणपछि मुलुकमा देखिएको जटिल राजनीतिक अवस्था र भारतीय नाकाबन्दीको असर निवारणको प्रयासमा पछिल्लो पटक सकरात्मक संकेत देखिन थालेको छ । आन्दोलनरत मधेसी मोर्चा लचक हुँदै जानु र भारतीय नाकाबन्दी सुस्त गतिमा खुकुलो हुँदै जानुले पनि मुलुक निकासतर्फ अगाडि बढ्न खोजेको अनुभव जनताले गर्न थालेका छन् । नया संविधानप्रति असन्तुष्ट जनाएका आदिवासी थारु र मधेसी लगायतका समूहले चरणवद्धरुपमा शुरु गरेको सशक्त आन्दोलनले मुलुकलाई घोर राजनीतिक अप्ठ्यारोतर्फ पुर्यायो । नया संविधान निर्माण भएपछि शान्ति र समृद्धिको अपेक्षा गरेका जनताले मुलुक थप भिडन्त र अराजक राजनीतिक स्थितितर्फ जान लागेको अनुभव गर्न पुगे । त्यतिमात्र होइन नेपालको तरल अवस्थामा आफ्ना रणनीतिक स्वार्थहरु पूरा गर्ने अवसर खोजेर बसिरहेको र नेपालको समृद्धिमा सदा वाधक बन्दै आएको छिमेकी मुलुक भारतले मोर्चाको आन्दोलनको वहानामा नेपालको पारवहन अधिकार विपरित नाकाबन्दी लगायो । भारतीय नाकाबन्दीले लामो राजनीतिक अस्थिरता र विनाशकारी भूकम्पका कारण इतिहासकै अप्ठ्यारो अवस्थामा रहेको नेपाललाई कसैले भोग्न नपरोस भन्ने किसिमको कष्ट दियो । भारतको उक्त व्यावहारकोे राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमै आलोचना हुनपुग्यो ।

आन्दोलनरत मोर्चा लगायतका पक्षहरु पनि लामो आन्दोलनका कारण थकित र आलोचित भएपछि अब वार्तावाटै हल खोज्न लचक बनेका छन् । जायज मागहरु पुरा गर्न कुनै अप्ठ्यारो नरहेको प्रमुख दलहरुवाट आश्वासन पाएकोले पनि आन्दोलनरत पक्ष नरम हुँदै गएका हुन् । सरकार र आन्दोलनकारी दुवै पक्षका व्यावहारले आमजनता आजित र आक्रान्त भएका छन् । जनताका गास, वास र कपाससंग सम्वन्धित सामान्य आवश्यकताको गाम्भीर्यता सरकार र आन्दोलनकारी दुवै पक्षले नबुझेकोमा जनता आक्रोसित हुँदै आएका छन् । विविध वाध्यता र दवावका कारण प्रमुख तीन दल र आन्दोलनरत मोर्चा पछिल्लो पटक निकासको विन्दु पहिल्याउन भन्दै अन्तिम अवसरको लागि जुटेका छन् । आन्तरिक र वाह्य दवाव र परिस्थितिको वाध्यताले गर्दा पनि दुवै पक्ष जसरी पनि निकासको खोजिमा रहेको देखिएको छ । पूर्ण लोकतन्त्रको स्थापना भएको नेपालमा अव अनेक थरीमा आन्दोलन तथा संर्घष थेग्न सक्ने ताकत जनतासंग छैन् । यस्तै जनता अहिले शान्ति, समृद्धि र अग्रगमन खोजिरहेका छन् । अव दलहरुले जनताका यी जायज आवश्यकतालाई बुझ्न सकेनन् भने उनीहरु इतिहासवाटनै बढारिनेमा कुनै शंका छैन ।

LIVE TV