२४ पुष २०७२, शुक्रबार

चितवन । जिल्लाका किसान मौरीपालनतर्फ आकर्षित भएका छन् ।

सरकारको युवालक्षित स्वरोजगार कार्यक्रम मौरीपालक किसानमा पनि केन्द्रित हुन थालेपछि यस व्यवसायप्रतिको आकर्षण बढेर गएको छ । गतवर्षबाट मौरीपालक कृषकलाई स्वरोजगार कार्यक्रमअन्तर्गत सहयोग गर्न थालिएको हो । नेपाल मौरीपालक महासङ्घका अध्यक्ष राजेन्द्र गौतम नेपालमा हाल ५० हजार गोला मेलिफेरा र एक लाख २५ हजार गोला सेरेना जातका मौरी पालिएको बताउनुहुन्छ ।

mauri

महासङ्घको ३२ जिल्लामा शाखा रहेका छन् भने पाँच हजार एक सय सदस्य आवद्ध छन् । गतवर्षसम्म चार हजार पाँच सय सदस्य मात्र रहेका थिए । ७५ जिल्लामा गाउँ गाउँमा धेरथोर मौरी पाल्ने किसान भएकाले यकिन तथ्याङ्क आउन नसकेको गौतमको भनाइ छ । स्वरोजगार कार्यक्रमले गतवर्ष ५९ जिल्लामा यो कार्यक्रम लागू गरेको थियो । यसवर्ष थप नौ जिल्लाका मौरीपालक किसानलाई स्वरोजगार कार्यक्रमअन्तर्गत सहयोग गरिरहेको छ ।

यसका अतिरिक्त विदेशी दातृ संस्था र सरकारी निकायहरुले पनि मौरीपालक किसानलाई सहयोग गर्न थालेका छन् । जर्मन नियोग, सरकारको व्यावसायिक कृषि तथा व्यापार आयोजना र कृषि विकास मन्त्रालयअन्तर्गतको रिजम परियोजनाले पनि किसान लक्षित कार्यक्रम सञ्चालन गरेपछि यसतर्फको आकर्षण बढेको महासङ्घका कार्यालय प्रमुख ठाकुरप्रसाद दवाडीले बताउनुभयो ।

थोरै लगानीमा समेत व्यवसाय गर्न सकिने भएकाले किसानको आकर्षण बढेको हो । “मौरीको प्रतिघार रु १० हजारमा किन्न सकिन्छ, त्यसैले थोरै लगानी गर्ने किसानले पनि सहजै यो व्यवसाय गर्न सकेका छन्” दवाडीले भन्नुभयो । गतवर्ष नेपालमा एक हजार छ सय मेट्रिक टन मह उत्पादन भएको महासङ्घले जनाएको छ । यसवर्ष उत्पादन दुई हजार मेट्रिक टन पुग्ने सम्भावना छ ।

नेपालको महले नपुगेपछि भारतीय विभिन्न कम्पनीले नेपाली बजारमा मह बिक्री गर्दै आएका छन् । किसानले अप्रशोधित मह प्रतिकिलो रु ३०० मा बिक्री गर्छन् भने बजारमा खुल्ला मूल्य रु ५०० रहेको छ । नेपालमा उत्पादित सेरेना जातको मह गाउँमै खपत हुने गर्दछ भने मेलिफेरा जातको मह मात्र बजारमा आउने गर्दछ । किसानका अनुसार मेलिफेरा एक घारमा वर्षमा ४० किलोदेखि ६० किलो उत्पादन हुन्छ भने सेरेना पाँच किलोको हाराहारीमा मात्र उत्पादन हुने गर्दछ । रासस

 

LIVE TV