२४ पुष २०७२, शुक्रबार

पैसा, शक्ति र पहुँच छ भने जति संख्यामा पनि ग्यासको सिलिन्डर घरमै आइपुग्छ। ग्यास उद्योगीले उद्योगबाट सीधै पहुँचवालालाई सिलिन्डर पुर्‍याइदिन्छन्।

gas
सर्वसाधारणले महिनौं दिनसम्म लाममा बसेर पनि नजिकको बिक्रेताबाट आधा सिलिन्डर ग्यास पाउन नसकेको अवस्थामा पहुँचवालाले ‘अर्डर’ दिएको दुई दिनभित्रमै चाहेको परिमाणमा सहजै ग्यास पाउँदै आएका छन्।ग्यास उद्योगले प्रमाणीकरणमा परेका बिक्रेतामार्फत सिलिन्डर बिक्री गर्नुपर्ने सरकारी नियम बेवास्ता गर्दै ग्यास प्लान्टबाट सोझै सिलिन्डर बिक्री गरेर ढुवानी भाडा खर्चबापतको रकम हडप्नुका साथै बिक्रेताको रोजगारसमेत खोसेका छन्।

ग्यास उद्योगले खाद्य, मदिरा, ग्रोसरी, मार्ट र इलेक्ट्रिक पसलबाट आफूखुसी सिलिन्डर बिक्री गर्दै आएका छन्।सहज रूपमा सर्वसाधारणलाई ग्यास वितरण गर्न नेपाल आयल निगममा सरकारले स्थापना गरेको ‘कन्ट्रोल रुम’ले तयार पारेको तथ्यांकले पैसा, शक्ति र पहुँचको आडमा केही सीमित व्यक्तिले उद्योगबाट सोझै सिलिन्डर पाउने गरेको पुष्टि गर्छ।

कन्ट्रोल रुमले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी सुगम ग्यास उद्योगबाट उत्पादित सुगम ब्रान्डको सिलिन्डर सोझै पहुँचवालाको लक्षित स्थानमा पुगेको छ। सुगम ग्यासका प्रमुख शिव घिमिरे ग्यास उद्योग संघका अध्यक्षसमेत हुन्। सिलिन्डरको फुटरिङ काट्ने काण्डमा मुछिएका घिमिरेलाई राज्यले उन्मुक्ति दिएको थियो।

कन्ट्रोल रुमका प्रमुख हरिनारायण बेलबासेका अनुसार सुगम कम्पनीले दुई दिन बिराएर नौ पहुँचवालालाई उद्योगबाट सोझै ठूलो परिमाणमा सिलिन्डर उपलब्ध गराएको छ। तथ्यांकअनुसार ग्यास बिक्रेतामार्फत मात्रै बिक्री गर्नुपर्ने व्यवस्था नटेरी घिमिरेले गत आइतबार र मंगलबार गरी आयुष एन्ड अनिष कोल्ड स्टोरलाई दुई दिनमा ३०/३० थान सिलिन्डर सोझै उपलब्ध गराएका छन्।

ती दुवै दिनमा सुगमले लिटिल एन्जेल्स आवासीय स्कुललाई ७०/७० थान, बावर्ची रिभिजिटेडलाई २०/२० थान, क्षेत्रपाटी पार्टी प्यालेसलाई २०/२० थान, दिव्या पश्मिना उद्योगलाई २०/२० थान, जी क्याफेलाई २०/२० थान, होटेल डिला अन्नपूर्णलाई ३०/३० थान, होटेल शंकरलाई ३०/३० थान र सापकोटा मिठाइ भण्डारलाई ३०/३० थान सिलिन्डर उपलब्ध गराएको छ।

यसैगरी सुगमले आइतबार नै दी बेकरी क्याफेलाई ७० र नक्सालस्थित भाटभटेनी सुपर मार्केटलाई ७० वटा सिलिन्डर उपलब्ध गराएको छ। ‘सर्वसाधारण महिनौं दिनसम्म लाममा बसेर नजिकको बिक्रेताले सहज रूपमा एक थान सिलिन्डर पाउन सकेका छैनन्’, वाणिज्य विभागका निर्देशकसमेत रहेका बेलबासेले भने, ‘तर थ्रीएम अर्थात् पैसा बढी भएका, बलियो पाखुरा भएका र ठूलो पहुँच भएका बाहुबलीले सजिलै, भनेकै समयमा सीधै उद्योगबाट सिलिन्डर पाएका छन्। ग्यास आएर पनि सर्वसाधारणले पाउन सकेका छैनन्।’

बेलबासेले बाहुबलका आधारमा वितरण भइरहेको ग्यासको कालोबजारी रोक्न तत्कालै त्यस्ता उद्योगविरुद्ध कारबाही अघि बढाइने बताए।सुगम मात्रै होइन, सगरमाथा, श्रीराम, बाबा, नेपाल ग्यास, साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ब्रान्डलगायत कम्पनीका ग्यास पनि पहुँचका आधारमा र आफूखुसी बिक्री हुँदै आएको छ।

सगरमाथा ब्रान्डको सिलिन्डर आधिकारिक बिक्रेताको साटो मदिरा र एग्रोभेट पसलमार्फत वितरण भएको फेलापरेको छ। यसैगरी       श्रीराम ग्यास कोल्ड स्टोर, मिन्ट मार्ट र ग्रोसरीबाट वितरण हुँदै आएको छ।

बाबा ग्यासले नयाँ डिलर बनाएर नयाँ उपभोक्तालाई मात्रै ५ सय २८ वटा नयाँ सिलिन्डर बिक्री गरेको फेलापरेको छ। यस्तै एसटीसीले बिजुली पसलमार्फत सिलिन्डर वितरण गरेको छ।

उद्योगीले खाद्य स्टोरमार्फत वितरण गर्दा खाद्य स्टोरले चामल नकिन्ने उपभोक्तालाई सिलिन्डर नबेच्ने समस्या देखिएको ग्यास बिक्रेता महासंघका केन्द्रीय सदस्य राजेश दाहालले बताए।ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापाले सर्वसाधारण उपभोक्ता तीन महिनादेखि लाममा बसेर पनि आधा सिलिन्डर नपाएर भोकभोकै बस्नुपरेको अवस्थामा पहुँच भएकाले सजिलै उद्योगबाट भनेको समयमा आवश्यक परिमाणमा सिलिन्डर प्राप्त गर्दै आएको बताए।

‘उद्योगले सोझै पहुँच भएकालाई चाहेको परिमाणमा सिलिन्डर वितरण गर्दा सर्वसाधारणले सिलिन्डर पाउन सकेका छैनन्’, उनले भने, ‘अहिले अधिकांश पहुँचवालाले ग्यास पाएका छन्।’ ग्यास उद्योग संघका अध्यक्ष तथा सुगम ग्यासका प्रमुख घिमिरेले उद्योगीले आधिकारिक बिक्रेतामार्फत पारदर्शी रूपमा सिलिन्डर बिक्री गरेको दाबी गरे।

‘हामीले उद्योगबाट सोझै एउटा संस्था वा व्यक्तिलाई भनेको परिमाणमा सिलिन्डर वितरण गरेका छैनौं। आधिकारिक बिक्रेतामार्फत पारदर्शी रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ’, उनले भने। कन्ट्रोल रुमका अनुसार पुस एकदेखि २३ गतेसम्म एक लाख ३२ हजार सात सय ५४ थान सिलिन्डर वितरण भएको छ। अन्नपूर्ण पोष्ट

 

LIVE TV