
काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरभित्र छ राहदानी विभाग । दरबारको पश्चिमी ढोकाबाट प्रवेश गरे पुगिन्छ विभाग, जहाँ २०६५ साल जेठसम्म पूवराजा ज्ञानेन्द्र शाहको निजी सचिवालय थियो । दरबारको मुख्य भवन र विभागबीच केही खाली ठाउँ छ । त्यहाँ केही फोहोर राख्ने भाडाँसँगै भटिन्छ, कालो रंगको कार ।
दिनको हजारभन्दा बढी मानिस पासपार्ट लिन विभाग पुग्छन् । तर न कसैको ध्यान त्यो कारमा परेको छ । न त्यो कारले नै कसैलाई आकर्षण गर्न सकेको छ । कार धुलाम्य छ । धुलोले कारको वास्तविक रंगलाई छोपिसकेको छ । कारको वास्तविक रंग कालो हो कि खैरो, छुट्याउन गाह्रो पर्छ । बा १ च ९२९४ कारको नम्बर प्लेटमा उल्लेख छ । कारको अगाडिपट्टीको नम्बर प्लेटको थोरै माथि अंग्रेजीमा लेखिएको छ ‘मर्सिडिज बेन्ज’ ।
उक्त कार राजा वीरेन्द्रले प्रयोग गर्ने मर्सिडिज बेन्ज हो । उक्त कार राजा वीरेन्द्रले सार्कको तेस्रो शिखर सम्मेलन हुँदा खरिद गरेका थिए । २०४४ कात्तिक १६ देखि १८ सम्म काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा आएका भुटानका तत्कालीन राजा, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका राष्ट्रपति, भारत र पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नेपाल आउँदा उनीहरुको सवारीका लागि प्रयोग गरिएको थियो ।
सम्मेलन सम्पन्न भएपछि सोही कार वीरेन्द्रले प्रयोग गर्दै आएका थिए । उक्त कार राजा वीरेन्द्रको व्यक्तिगत प्रयोगको रहेको नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहित ढुंगानाले बताएको नागरिकमा खबर छ ।