२३ पुष २०७२, बिहीबार

विगत २०५१ साल देखी स्वास्थ्यको क्षेत्रमा सक्रिय रहेकी म्याग्दी भकिम्लीकी सिनियर अनमी तारा घर्तीमगरले गाउँमा जनचेतनाको अभावमा घरभित्रै सुत्केरी बनाउने परम्परालाई जिल्लामै पहिलोपटक मुक्त बनाउने अभियान सञ्चालन गर्दै आएकी छिन् । साधन स्रोतको अभावका बावजुत पनि स्वास्थ्य क्षेत्रमा नमूना काम गर्न सफल तारा अहिले जिल्लाकै नमुना स्वास्थ्यकर्मीका रुपमा चिनिएकी छन् ।

vlcsnap-2016-01-07-19h45m14s112
म्याग्दी जिल्लामै पहिलोपटक २०६८ सालमा बर्थिक सेन्टर संचालन गरेकी ताराले अहिलेसम्म स्थानीय स्वास्थ्यचौकीमै १ सय ११ जना महिलालाई सकुशल प्रसुती गराउँनुको साथै हजारौ महिलालाई घरमै पुगेर सेवा समेत दिएकी छन् । ०५१ देखी ६३ सालसम्म मासिका भएर काम गरेकी उनी विगत पाँच वर्षदेखि स्वास्थ्यचौकीको प्रमुखको जिम्मेबारी सम्हाल्दै आएकी छिन् । करिव ३ हजार १ सय ३९ जनसंख्या रहेको भकिम्लीका सबैजसो घरमा पुगिसकेकी ताराले ९ वटै वडामा रहेका महिला स्वयमसेविकाको क्षमता अभिबृद्धि गरी प्रोत्साहन गर्ने कार्य समेत गर्दै आएकी छिन् । उनको प्रयासलाई कदर गर्दै जिल्ला स्वास्थ्य कार्यालयले समेत पटकपटक उत्कृष्ट स्वास्थ्यकर्मीको सम्मानले सम्मानित गरिसकेको छ । धामिझाक्रीलाई विश्वास गर्ने समाजलाई रुपान्तरण गरी धामीझाँक्रीको सट्टामा स्वास्थ्यचौकी र अस्पताललाई विश्वास गर्ने वातावरण बनाउँन तारा सफल भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख डा. रोशन न्यौपानेले बताए । दरबन्दीको अभावमा निमित्त इन्र्चाजको जिम्मेबारीमा घर्तीमगरले गरेको प्रयासलाई जिल्लाका अन्य गाविसले समेत सिको गर्नुपर्ने डा. न्यौपानेको भनाई छ । जिल्ला अस्पताल म्याग्दीले समेत जिल्लाकै नमुना स्वास्थ्यकर्मीको रुपमा उनलाई लिने गरेको छ । अहिले उनको ख्याति सुनेर भकिम्लीका साथै आसपासका गाविसबाट समेत विरामी आउन थालेपछि आफूलाई थप जिम्मवबारी बढेको घर्तीमगरले बताइन् । सेवा नै धर्म हो भन्ने कुरालाई मुल मन्त्रका रुपमा लिई सक्रिय रहँदै आएकी ताराले गाउँमा हुने हरेक सार्वजनिक कार्यक्रममा समेत स्वास्थ्यका बारेमा जानकारी गराउन थालेपछि स्थानीयहरु थप उत्साहित बन्ने गरेका छन् ।

LIVE TV