
भारतीय नाकाबन्दी र लगातारको तराई बन्दका कारण मुलुक आक्रान्त भइरहेका बेला पुर्बी लमजुङका कृषकहरु भने परनिर्भरताबाट उन्मुक्ति पाउनको लागि गाउँघरमै तरकारी खेतीमा लागेका छन् । यहाँका किसानहरले परम्परागत कृषि प्रणालीलाई अन्त्य गरी नयाँ ढंगबाट तरकारी खेती शुरु गरेका हुन् ।
पूर्वी लमजुङस्थित राइनस नगरपालिका अन्तर्गकतका विभिन्न वडाहरुमा जलवायु अनुकुलन कृषि परियोजना लागू भएपछि यहाँका किसानहरुले नयाँ प्रविधिबाट खेती गर्न थालेका हुन् । कृषकहरुले परम्परागत तरिकाले खेती गर्दै आएकोमा जनचेतना अभिबृद्धि र विकास अध्ययन समिति कोपाडेसले कृषकहरुलाई जलवायु अनुकुलन तरकारी बालीहरु लगाउन सहयोग गर्दै आएको छ । संस्थाले जलवायु अनुकुलन कृषि परियोजना लागू गरेपछि किसानहरुमा आफुले उत्पादन गरेको कृषि सामाग्रहरु बजारसम्म लैजान र बेमौसमी तरकारी उत्पादन गर्न सम्भव हुनुको साथै कृषिबाट आत्मनिर्भर समेत बन्न सहयोग पुगेको किसानहरुले बताएका छन् । यसबाट पूर्बी लमजुङको धमिलिकुवा, चक्रतिर्थ लगायत नगरपालिका भित्रका २ सय ५० बढि किसानहरु लाभान्वित भएका छन् । उनीहरुले आफुले उत्पादन गरेका कृषि सामाग्रीहरुलाई बजारसम्म लैजाने र त्यसबाट आएको पैसाबाट आफ्नो घरखर्च टार्दै आएका छन् । यस क्षेत्रका कतिपय किसानहरुले विगतमा अर्काको घरबाट तरकारी मागेर खाने गरेकोमा अहिले भने उनीहरुले आफैं तरकारी उत्पादन गरी बिक्री समेत गरी आर्थिक रुपमा समेत सबल बन्न थालेका छन् । विगतमा तरकारीको नाम समेत नजानेका यहाँका किसानहरुले अहिले आफ्नै बारीमा गोलभेंडा, काउली, बन्दा, खुर्सानी लगायतका विभिन्न बेमौषमी तरकारी बालीहरु लगाएका छन् । संस्थाले यस क्षेत्रका किसानहरुलाई तालिम, मल, बिउ लगायतका सहयोग समेत गर्दै आएको छ ।