
नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले मुलुकलाई पराधिन हुनबाट बचाउनु पर्ने बताउनु भएको छ । उहाँले दलहरुले आफ्नो भुमिका नदेखाउने हो भने मुलुक पर्ने पनि प्रष्ट पार्नुभयो । नेपाली कांग्रेस, बागलुङले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट क्रममा सिटौलाले राजनीतिक दल जिम्मेवार नहुने हो भने मुलुकको अस्तित्व संकटमा पर्ने बताउनु भयो । उहाँले संविधान जारी भएपछि पनि मुलुकमा संकट देखिएकोले मुलुकको अस्तित्व बचाउने जिम्मा दलहरुको काँधमा रहेको बताउदै दलहरुबीच देखिएको ध्रुविकरण रोक्नको लागि दलहरुबीच एकता आवश्यक भएको धारण राख्नु भयो ।
संविधानको कार्यान्वयन पहिलो प्राथमिकता हुनुपर्ने वताउदै अब आगामी दुई वर्ष भित्र सबै निर्वाचन गरेर मुलुकलाई नयाँ गति दिनुपर्ने सिटौलाको भनाइ छ । उहाँले कांग्रेस सत्तामा नभए पनि मुलुकको जारी संकट समाधानमा गर्न काग्रेस पछि हट्न नहुने धारणा राख्नु भयो । महाधिवेशनको पूर्व सन्ध्यामा आएका सिटौलाले आगामी निर्वाचन जित्ने गरी संगठन बिस्तार गर्न समेत आफु निकटका कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।