
पछिल्लो समयमा धरानमा खैरो हेरोइनको कारोबारसंगै सेवनकर्ताको संख्यामा वृद्धि हँुदै गएको छ । लागु औषध नियन्त्रण गर्न प्रहरीले जनस्तरमा विभिन्न कार्यक्रम भइरहेपनि अन्य लागु औषधको तुलनामा खैरो हेरोइन सेवन तथा कारोबारीको संख्यामा भने वृद्धि हुदै गएको हो । धरानमा ट्याब्लेट तथा चुरोटवाट लागू औषध सेवन गर्नेको संख्या अत्याधिक हुने गरेको भए पनि पछिल्लो समयमा भने खैरो हेरोइनको सेवनमा युवाहरु आकर्षित हुन थालेको प्रहरीको भनाई छ । जसका कारण धरानमा एचाइएभी एड्स तथा हेपाटाइटिसको संक्रमण समेत बढ्दै गएको छ । केन्द्रीय तथ्याङ्क विभागको २०६९ को तथ्याङ्क अनुसार नेपालमा कडा किसिमका लागू औषधप्रयोगकर्ताहरु ९१ हजार ५ सय ३४ छन् । विभागकै पछिल्लो तथ्याङ्कमा सुनसरीमा ७ हजार ४ सय ७जना लागू औषध प्रयोगकर्ताहरु छन् । जसमध्ये ५८ प्रतिशतले सुईमार्फत लागू औषध प्रयोग गर्छन् । जस्मा १ हजार ३ जना एचआईभी संक्रमित रहेको देखाउँछ । संक्रमितमध्ये ५ सय ९८ जना सुई मार्फत लागू औषधि लिनेहरु छन् । धरानमा सुईमार्फत लागू औषध प्रयोग गर्नेहरु मध्ये ७० प्रतिशतभन्दा बढीमा हेपाटाइटिसको संक्रमण रहेको आर्थिक वर्ष २०७१÷०७२ को तथ्याङ्कमा उल्लेख छ ।
१२ वर्ष देखि लागु औषधको क्षेत्रमा काम गर्दै आएको किरात याक्थुङ चुम्लुङ पुर्नजीवन केन्द्रको तथ्याङमा समेत खैरो हेरोइन सेवनकर्ताको संख्यामा बृद्धि भएको देखाएको छ । चालु आर्थिक बर्षमा केन्द्रमा उपचारमा आएको १ सय ५५ जनामध्ये १० जना खैरो हेरोइन प्रयोगकर्ता रहेको केन्द्रले जनाएको छ । खैरो हेरोइन सुँगेर तथा सुइको माध्यमवाट समेत लिने गरेको पाइन्छ । धरानस्थित कोशी अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले संयुक्त रुपमा चलाएको अप्रेशनमा एक जना बिक्रेता सहित ७ जना ब्राउन सुगर प्रयोगकर्ताहरु समातिएसंगै धरानमा पछिल्लो समयमा युवाहरु खैरो हेरोइन सेवनतर्फ आकर्षित हुने गरेको खुलेको हो ।
प्रहरीले उनीहरुको साथबाट २५ ग्राम खैरो हिरोइन समेत फेलापारेको जनाएको छ । पूर्वमै सवैभन्दा वढि खैरो हेरोइन धरानमा बिक्रि हुने गरेको र यस्को मुख्य कारोबारी खड्कबहादुर राई रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो । किरातयाक्थुङ चुम्लुङ पुर्नजीवन केन्दका कार्यकारी निर्देशक कमल तिगेलाले पछिल्लो समयमा खैरो हेरोइन सेवनकर्ताको संख्यामा वृद्धि भएको बताउदै यसको रोकथामको लागि मौखिक प्रतिस्थापन विधि मेथाडोन कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । खैरो हिरोइन सेवनकर्ताहरुको वैलैमा उपचार नगरे धरानमा लागू औषध मात्र नभई एचाआएभी लगायतका संक्रमण बढ्ने खतरा रहेको छ ।