अमेरिकामा बन्दुकमाथि नियन्त्रण बढाउनेबारे भाषण गरिरहँदा राष्ट्रपति बाराक ओबामा एक्कासि भक्कानिए । देशमा हरेक वर्ष हुने गोलीकाण्डमा हजारौँको मृत्यु भइरहेकाले बन्दुकमाथि नियन्त्रण अपरिहार्य भइसकेको उनको भनाइ थियो ।
तीन वर्षअघिको घटनालाई सम्झेर भक्कानिए तीन वर्षअघि कनेक्टिकटको न्यु टाउनस्थित एउटा विद्यालयमा भएको गोलीकाण्डबारे बोलिरहँदा उनको आँखामा आँसु देखिएको थियो ।
‘जब म ती बालबालिकाका बारेमा सोच्छु तब म पागल हुन्छु,’ उनले भने, ‘हामी सबैले यो मुद्दामा कठोर हुन सिनेटसँग माग गर्नुपर्छ ताकि बन्दुकको पक्षमा हुने लबीलाई झुट साबित गर्न सकियोस् ।’
सम्बोधनका क्रममा बन्दुकको लाइसेन्स प्रक्रियालाई कठोर बनाउने कदमको घोषणा गरे । उनले ‘बन्दुक लबी’ले सरकारको कारबाहीलाई रोक्न नसक्ने पनि बताए । ‘बन्दुक लबीले अमेरिकी कंग्रेसलाई बन्धक बनाउन सक्ला तर अमेरिकालाई बन्धक बनाउन सक्दैन,’ उनले भने । ओबामा बन्दुकमाथिको लाइसेन्समा नियन्त्रण बढाउनुपर्ने पक्षमा छन् । तर, सिनेटमा बहुमत नभएका कारण उनले यसबारे कानुन बनाउन सकेका छैनन् । – नयाँ पत्रिका