
बेरुत (लेबनान)। पेरिसमा गत महिनामा भएको आक्रमणको पृष्ठभूमिमा फ्रान्सद्वारा सिरियामा कारबाही जारी नै राखिएको समाचारमा जनाइएको छ ।
जनाइएअनुसार फ्रान्सका विमानहरुले सोमबार पनि केही स्थानमा हवाई कारबाही गरेका छन् । सो कारबाहीमा परी कैयौँ व्यक्तिको ज्यानगएको पनि बताइएको छ ।
सो कारबाही विभिन्न ठाउँमा गरिएको फ्रान्सेली सरकारले जनाएको छ । कारबाहीमा गएको २४ घण्टाभित्र कम्तीमा १८ जनाको मृत्यु भएको यहाँको मानवअधिकारवादी संस्थाले बुधबार जनाएको छ ।
मृत्यु हुनेमा अतिवादी इस्लामिक स्टेट संस्थाका लडाकूहरु रहेको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाका निर्देशक रामी अब्देल रहमानले बताउनुभएको छ ।
रहमानका अनुसार जिहादी मुसलमान समूहको प्रभाव क्षेत्र राकास्थित विभिन्न हतियार भण्डार केन्द्र, ब्यारेक र सुरक्षा जाँच केन्द्रमा भएका भिडन्तमा दर्जनौँ आईएस लडाकू घाइते भएका छन् ।
पेरिसमा गत नोभेम्बर महिनाको आक्रमणपछि फ्रान्सले राका क्षेत्रलाई प्रमुख निशाना बनाई लगातार सिरियामा गएको तीन दिनदेखि आफ्ना युद्धक विमानद्वारा सैन्य कारबाही चलाउँदै आएको छ ।
यसैगरी, रुसले पनि राका क्षेत्रमा आफ्ना लामो दूरीका क्षेप्यास्त्र तथा सामुद्रिक क्षेत्रबाट कारबाही सञ्चालन गरिरहेको छ । मृत्यु भएका प्रायः आईएस लडाकू सुरक्षा जाँच केन्द्रमा परेका प्राप्त समाचारमा बताइएको छ । रासस÷एएफपी