२२ पुष २०७२, बुधबार

नेपाली भाषामा गरिएका दुई दर्जनभन्दा बढी वार्ता निष्कर्षविहीन बन्न पुगेर हो कि किन हो, प्रधानमन्त्री केपी ओली हिजोआज तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग मैथिली भाषामा भलाकुसारी गर्छन् । मंगलबार मध्याह्न पनि यस्तै संवाद दोहोरियो ।

kp oli

‘हेलो ठाकुरजी, कि छै हालचाल ?’, प्रधानमन्त्रीले सोधे ।
‘हालचाल ठिक अछि प्रधानमन्त्रीजी, मोर्चाके दिस स कार्यदल मे आई तीन लोक के नाम पठा देने छि ।’ मधेसी मोर्चाका तर्फबाट तीन दल–मोर्चा कार्यदल सदस्यका नाम पठाएको जानकारी दिदै ठाकुरले फर्काए । सद्भावना दलको नाम छुटाउँदै मंगलबार बिहान मोर्चा बैठकमार्फत् संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी र तमलोपा वरिष्ठ नेता रामनरेश राय यादवको नाम दिइएको उनले प्रधानमन्त्रीलाई बताए ।
‘बरु राजेन्द्रोजीके एक बेर फोन क क स्वास्थके बारेमें पुछियौ न,’ ठाकुरले नयाँ दिल्लीमा उपचाररत सद्भावना अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य सोधिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे । ओलीले ठाकुरलाई किन सद्भावनाको नाम आएन भनी जिज्ञासा राखेपछि ठाकुरले यस्तो जवाफ दिएका हुन् । ठाकुरले महतोको दिल्लीस्थित भारतीय टेलिफोन नम्बरसमेत प्रधानमन्त्रीलाई पठाइदिए । प्रधानमन्त्रीले फोन गर्ने वचन दिए । यसअघि पनि ओली–ठाकुरबीच आधा दर्जनभन्दा बढी चरणमा मैथिली संवाद भइसकेको छ, टेलिफोनमा ।
तर मंगलबार रातिसम्म प्रधानमन्त्रीका तर्फबाट महतोलाई कुनै फोन गएको छैन । पुस ११ गते विराटनगर–जोगवनी नाकामा धर्ना कस्न गएका महतोमाथि सुरक्षाकर्मीले दमन गरेको भन्दै सद्भावनाले सरकारका तर्फबाट माफी मागिनुपर्ने, नत्र वार्ता, कार्यदल दुवैमा नजाने अडान राख्दै आएको छ ।
ओलीको मैथिली लवज त्यस्तो सुनिन्छ, जस्तो ठाकुर र मधेसीहरुको खस नेपालीमा सुनिन्छ । ओलीले नसुल्झिएका मुद्दा कार्यदलमार्फत् टुंग्याउन दुवै पक्ष तयार हुनुपर्ने बताएको उनले बताए । ठाकुरले वार्ताबाट समस्या सुल्झाउन सरकार र विपक्षी कांग्रेसमा पर्याप्त जिम्मेवारी र गम्भीरता देखिनुपर्ने जवाफ दिए । ‘मैथिली त मिठै बोल्नुहुन्छ प्रधानमन्त्रीजी, झापालाई मधेसमा राख्नचाहिँ बरु के को समस्या परेको हो उहाँलाई,’ ठाकुरले सुनाए । मधेस आन्दोलनकारीबीच अनुदारवादी छवि बनाएको ओलीले असन्तुष्ट पक्षसँग संवाद जोड्न भाषालाइ माध्यम बनाएको हुन सक्ने आकलन गरिएको छ ।
आइतबार बालुवाटारमा बसेको तीन दल–मोर्चा वार्तामा प्रस्तावित कार्यदलबारे छलफल भएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV