२२ पुष २०७२, बुधबार

भूकम्पपछिको नौ महिनामा ठाउँ सर्दै नवैवटा अस्थायी टहरो बनाइसकेका निरबहादुर थापा दसौं टहरो बनाउने थलो खोजिरहेका छन् । भूकम्पमा सर्वस्व गुमाएका उनलाई ठाउँ चहार्दै हिँड्न कुनै रहर छैन ।

bhukampa

‘बाँच्ने रहरले नि, हजुर !’ उनले सुस्तरी भने, ‘जहाँ टहरो हाल्यो, त्यहीँको जमिन धस्सिएपछि बाँच्ने जुक्ति त निकाल्नै प¥यो नि !’

सेपिलो साप्रा गाउँ । जताततै चिरा र धाँजा । धस्सिरहेको जमिन । कतै उठेका त कतै थ्याच्च बसेका । धाँजा छलेर बीचमा बनाइएको निरबहादुरको पछिल्लो टहरो जमिनसँगै धस्सिइरहेको छ । अर्को टहरो बनाउने थलोको खोजीसँगै गहिरो चिन्तामा डुबेका छन् उनी । भूकम्पअघि दुई घर र रोपनीका रोपनी जग्गाका मालिक अहिले रित्तिएका छन् । न उनीसँग घर छ न गरिखाने जग्गा । यहाँसम्म्म कि सद्दे दुई हात जमिन पनि छैन उनीसँग ।

भत्किएको घरछेउमै टहरो बनाएर भूकम्पको त्रासबाट बिस्तारै ब्यँुतिँदै चिरिएका धाँजा जमिन पुरेर उनले कोदो रोपे । असारमा गोडमेलमा निस्कँदा उनले पुरिएका धाँजा फाट्दै गरेको देखे । बर्खासँगै क्रमिक रुपमा धाँजा बढ्दै जमिन धस्सिन थालेपछि उनको परिवार धेरै टहरो फेर्दै थापाडाँडास्थित सुरक्षित स्थानमा विस्थापित भयो । बर्खा थामिएर चाडबाड सुरु भएसँगै थातथलो फर्केका निरबहादुरले यहीँ पनि धाँजा छल्दै केही टहरो बनाउन भ्याइसके तर जमिन धस्सिन छाडेको छैन ।

‘जाऊँ त कहाँ, जाने कुनै ठाउँ छैन । नजाऊँ त यो ठाउँमा बाँच्ने आसै भएन,’ निरबहादुरले सुस्केरा छाडे, ‘जेठसम्म जेनतेन बाँचिएला । यस्तै हो भने आउँदो बर्खामा मरिन्छ कि बाँचिन्छ, थाहा भएन ।’

६ सदस्यीय परिवारका मूली निरबहादुरलाई मानो, छानो र न्यानोभन्दा कसरी बाँच्ने भन्ने नै चिन्ता छ । यो बर्खामै मरिन्छ भन्ने सोचेका उनी अहिलेसम्म बाँच्नुलाई भाग्य ठान्छन् । बर्खामा मुसलधारे झरी पर्दा बस्तुभाउ छाडेर बाँच्ने धुनमा धेरैपटक भागेको तितो अनुभूति छ थापा परिवारसँग । आजको नागरिक दैनिकमा समाचार छ ।

 

LIVE TV