
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले सरकारले चीन र भारतसँगको सम्बन्धलाई नयाँ तरिकाले अगाडि बढाएको बताउनुभएको छ । उहाँले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई युगान्त तरिकाले अगाडि बढाएको दावी गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्सले काठमाण्डौंमा आयोजना गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री थापाले पारवाहनको अधिकार भारतसँग माग्नु भारतवेष्ठित मानसिकता भएको बताउनुभयो । उहाँले अब चीनसँग पनि पारवहन सन्धि गर्नुपर्ने बताउनुभयो । सरकारले पुरानो मानसिकतालाई परिवर्तन गर्दै चीनसँग पनि पारवहन सन्धि गरेर अगाडि बढ्ने तयारी गरेको परराष्ट्रमन्त्री थापाले स्पष्ट पार्नुभयो । रक्सोल नाका बन्द भएको बाहना देखाएर भारतले आपूर्ति समस्या देखाउनु गलत भएको उहाँले बताउनुभयो । परराष्ट्रमन्त्री थापाले देशलाई संकट परेका समयमा निजी क्षेत्रले सरकारलाई सहयोग नगरेको गुनासो पनि गर्नुभयो । उहाँले अप्ठेरो परेको बेला सरकारलाई निजी क्षेत्रले सहयोग नगरेर समस्या समाधानमा ढिलाई भएको समेत बताउनुभयो । उहाँले विसं २०४५ सालको नाकाबन्दीमा निजी क्षेत्रबाट सहयोग भए पनि अहिले सरकारलाई उद्योगले सहयोग नगरेको बताउनुभयो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापारिक क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न सरकारले उचित पहल गर्नुपर्ने बताउनुभयो ।