
दोलखाका भूकम्प पीडितहरुको आजकल दैनिकी नै फेरिएको छ । लामो समयदेखि थुप्रै समस्या भोग्दै आएका भूकम्प पीडितहरुको आजभोलि दैनिक रुपमा प्रशासन र जिल्ला विकासमा धाउँनु र धर्ना दिनु दैनिकी बन्दै आएको छ ।
दोलखाका भूकम्प पीडितहरुले आफ्नो पीडा र समस्याप्रति राज्य गम्भीर नबनेको भन्दै दैनिकजसो प्रशासन कार्यालयमा धर्ना दिदै आएका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्याङ्कअनुसार पछिल्लो एकमहिनामा भूकम्पपीडितहरुले मात्र २५ भन्दा बढी पटक धर्ना, डेलिगेसन,ध्यानाकर्षण र ज्ञापनपत्र लगायत कार्यक्रम राखिसकेका छन् । सेभ द चिल्ड्रेन नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले झुक्याएर खानेपानीको पाइप भन्दै वायरिङ पाइप वितरण गरेकोदेखि प्लान नेपालले चिसोको मौसममा अस्थायी आवासको लागि भन्दै बाँस र त्रिपाल वितरण गरेको विरोधको विषयदेखि प्रशासनमा धर्ना भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । खानेपानी पीउन नपाइएको विरोधदेखि खाद्यन्न अभावको डेलिगेसनसम्मको कार्यक्रम प्रशासनमा आइपुगेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो ।
नाम्दु गाविसबाट झुक्याएर पाइप वितरण गरेको र खानेपानी नपाएको, गैरीमुदी गाविसबाट नगद वितरणमा धाँधली गरेको, बोच गाविसबाट चिसो मौसममा बाँस र त्रिपाल वितरण गरेको तथा अस्थायी आवासको १५ हजार नपाइएको लगायतका गुनासाहरु प्रशासन कार्यालयमा आइपुगेको उहाँले बताउँनुभयो । यस्तै क्षेत्रपा गाविसले भूकम्प पीडितका लागि नगद वितरण नगरेको, काब्रे र लाकुरीडाँडा गाविसमा जस्तापाता वितरण नभएको, डाँडाखर्क गाविसमा नगद वितरण हुन नसकेको, लापिलाङ गाविसमा खाद्यन्न नपाएको,क्षमावती, सुन्द्रावती र ताम्चेत दुधपोखरी गाविसमा अस्थायी आवासको रकम वितरण नभएको भन्दै भूकम्प पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिकजसो धर्ना, डेलिगेसन, ध्यानाकर्षण र ज्ञापनपत्र बुझाउँने कार्य हुँदै आएको प्रशासन कार्यालयले जनाएको छ ।