२१ पुष २०७२, मंगलवार

व्यवस्थापिका संसद बैठकमा सांसदहरुले सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समय लिने अधिकांश सांसदहरुले जनजीवन सहज बनाउन सरकार चुकेको आरोप लगाए । बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरु रामहरी खतिवडा, कमल पंगेनी, मिना पुन र जयदेव जोशी लगायतले भूकम्प, नाकाबन्दी र आन्दोलनका कारण अति प्रभावित भएको देशभरको जनजीवन सहज बनाउन र पीडित नागरिकलाई राहत दिनुपर्ने भएपनि सरकारले केही गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । भूकम्पपिडीतलाई राहत वितरण हुन नसकेको, ग्याँस लगायत इन्धन अभावमा नागरिकको जनजीवन कष्टकर भएको तर सरकार समस्या समाधान गर्नुको साटो मन्त्री र सुविधा थप गर्नमा केन्द्रित भएको सांसदहरुको आरोप छ ।
केही सांसदले सरकारले गरेका कामहरु संसदलाई नियमित रुपमा जानकारी गराउनुपर्ने माग पनि गरेका छन् । संसद बैठकमा सांसद रविन्द्र अधिकारीले देशको उत्तरी क्षेत्रका नाका सञ्चालन गर्ने विषयमा तत्काल आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । संसदको विकास समितिका सभापति समेत रहेका अधिकारीले रसुवागढी तातोपानी लगायत यसअघि नै सञ्चालनमा रहेका नाकालाई सुचारु गर्न र सञ्चालनमा नरहेका नाकालाई सञ्चालनमा ल्याउन सरकारले काम थाल्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापाले केही भारतीय नेताले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने धारणा राखिरहेको बारे सरकारको ध्यानाकर्षण गराउँदै नेपालका केही नेताले पनि विदेशी हस्तक्षेपलाई निम्त्याउने गतिविधी गरिरहेकाले त्यसलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

LIVE TV