
देशका विभिन्न ठाउँबाट बालबालिकालाई दिइने खोपको अभाव भएको गुनासा आइरहेपनि सरकारले भने खोपको अभाव नभएको दाबी गरेको छ ।
भूकम्प प्रभावित र पूर्वी तराईका केही जिल्लामा खोपको अभाव देखिए पनि अहिले ती जिल्लामा भ्याक्सिन पठाइसकेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । स्थानीयस्तरकै केही कमिकमजोरीले खोपको अभाव भएको हुन सक्ने महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले बताउनुभयो ।
उहाँका अनुसार नियमित अभियानमा छुटेका बालबालिकालाई फेरि पनि खोप दिइने छ । केही कारणले खोप लगाउन छुटेका बालबालिकालाई अर्को महिना फेरि खोप दिइने भएकाले नआत्तिन पनि उहाँको आग्रह छ । सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत बालबालिकालाई ११ प्रकारका खोप निशुल्क उपलब्ध गराउँदै आएको छ ।
बिसिजी, डिपिटी, दादुरा र रुबेला विरुद्धको खोप तथा, जापानिज ईन्सेफ्लाईटिस्, निमोनिया विरुद्ध र पोलियो विरुद्धको खोप नियमित खोप कार्यक्रममा पर्छन । खोप लगाउनबाट छुटेका बालबालिकाका लागि सरकारले दोस्रो चरणको अभियान चलाउँदैछ । आउँदो महिनाको अन्त्यतिरबाट खोप अभियान सुरु हुने बाल स्वास्थ्य महाशाखाले जनाएको छ । दोस्रो चरणमा सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमी ३३ जिल्लामा खोप अभियान चलाउने महाशाखाले जनाएको छ । दोस्रो चरण सकेपछि मध्यमाञ्चल र पूर्वाञ्चलका २१ जिल्लामा खोप अभियान सुरु हुनेछ । महाशाखाले यस अघि भूकम्प अति प्रभावित १४ जिल्लामा पहिलो चरणको खोप अभियान सञ्चालन गरेको थियो ।