
अखिल नेपाल फुटवल संघ एन्फाले बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटवल प्रतियोगिताका लागि युवा खेलाडीलाई समेटेर २३ सदस्यीय टोलीको घोषणा गरेको छ । प्रतियोगिता आगामी शुक्रबारदेखि सुरु हुनेछ । एन्फाले सोमबार घोषणा गरेको अन्तिम नामावलीमा देबेन्द्र तामाङले पहिलो पटक राट्रिय टोलीमा स्थान बनाएका छन । नेपालको २३ बर्षमुनिको राष्ट्रिय टोली प्रतियोगितामा सहभागी हुनेछ । घोषित टोलीका गोलकिपरहरुमा एलन न्यौपाने, अमृत चौधरी र विकेश कुथु छन । त्यस्तै डिफेण्डरहरुमा अनन्त तामाङ, आदित्य चौधरी, बिराज महर्जन, रविन श्रेष्ठ, कमल श्रेष्ठ र मानबहादुर तामाङ छन । त्यस्तै मिडफिल्डरहरुमा अञ्जन विष्ट, बिशाल राई, बिक्रम लामा, हेमन गुरुङ, जगजीत श्रेष्ठ, प्रकाश बुढाथोकी, जंङ्बु शेर्पा, सुनिल वाल र तेज तामाङ परेका छन ।स्ट्राइकरहरु बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, रञ्जन बिष्ट र सुमन लामा टोलीमा समेटिएका छन । टोलीको प्रशिक्षकको जिम्मेबारी वालगोपाल महर्जनलाई दिइएको छ भने उपेन्द्रमान सिंहले गोलकिपर प्रशिक्षकको जिम्मेबारी संहाल्नेछन । टोलीको व्यवस्थापकको जिम्मा बिराटजंग शाहलाई दिइएको छ ।
आगामी जनवरी ८ देखि २० सम्म बंगलादेशमा हुने प्रतियोगितामा नेपाल समुह ए मा छ । यस समुहमा नेपालसंगै आयोजक बंगलादेश, श्रीलंका र प्रतियोगिताको साविक बिजेता मलेशिया छन । नेपालले समुह चरणको पहिलो खेलमा जनवरी ९ मा मलेशियासंग, १२ मा श्रीलंकासंग र १४ मा आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।