
स्थलमार्ग हुदै सबैभन्दा बढी बिदेशी पर्यटक आउने भैरहवाको बेलहियानाकामा रहेको नेपाल पर्यटन बोर्डको पर्यटक सूचना केन्द्र बिगत एक बर्ष देखि कर्मचारी बिहीन हुँदा पर्यटक प्रहरीको भरमा सञ्चालन हुँदै आएको छ । एक जना सूचना अधिकृत सहित ६ जनाको दरबन्दी रहेको भैरहवाको बेलहिया नाकामा अबस्थित नेपाल पर्यटन बोर्डको सूचना केन्द्रको दैनिक काम पर्यटक प्रहरीले गरिरहेका छन् । पर्यटकहरुको सहयोगका लागि खटिने गरेका पर्यटक प्रहरीहरुको दैनिकी पर्यटक सूचना केन्द्र खोल्नु,त्यहाँको रेखदेख गर्नु र आउने पर्यटकलाई नेपालका पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी तथा अभिलेखहरु उपलब्ध गराउनु भएको छ । कार्यालयमा बिगत एक बर्ष देखि पर्यटन बोर्डको कुनै कर्मचारी छ्रैनन् । कर्मचारी नहुँदा त्यहाँको प्रसाशनिक कार्य बाहेक अरु सबै काम आफुहरुले गर्ने गरेको पर्यटक प्रहरी ईन्चार्ज एवं प्रहरी सहायक निरीक्षक मुकुन्द गौतमले बताउनु भयो ।
बेलहिया नाका सबैभन्दा बढी पर्यटक भित्रने नाका हो । भारत सहित तेश्रो मुलुकका पर्यटक सबैभन्दा बढी यही नाका भएर नेपाल प्रबेश गर्छन् । यो नाका हुदै नेपाल भ्रमणमा आउने सबैभन्दा बढी बिदेशी पर्यटकको अन्तिम गन्तब्य गौतमबुद्ध जन्मस्थल लुम्बिनी हो । भारतीय पर्यटकहरु लुम्बिनी सहित पोखरा,मुक्तिनाथ,चितवन,काठमाण्डौ जानका लागि यो नाका हुदै आउने गर्छन् । नेपाल प्रबेश गर्ने अन्य नाकाको तुलनामा यो नाका सहज भएको यहाँबाट नेपालको चारै तर्फ जान यातायातको पहुँच राम्रो भएकाले पर्यटकहरु यो नाका बढी प्रयोग गर्दछन् । यस्तो महत्वपूर्ण नाका बिगत एक बर्ष देखि कर्मचारी बिहीन भई पर्यटक प्रहरीको भरमा सञ्चालन हुनु दुःखद भएको सिद्धार्थ एशोसियसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स साट्टा लुम्बिनी च्याप्टरका अध्यक्ष सागर अधिकारीले बताउनु भयो । बेलहिया स्थित पर्यटन सुचना केन्द्रमा अहिले पर्यटकहरुलाई जानकारी दिने ब्रोसर,पोष्टरहरुको समेत अभाब रहेको पर्यटक प्रहरीहरुको भनाई छ ।