
प्रधानमन्त्री केपी ओलीलाई केही च्यानलहरुले भारतीय संस्थापनको तर्फबाट अनौठो खवर दिए–‘चीनले नेपाललाई नाकाबन्दी गरिरहेको छ तर नेपाल बोल्दैन, भारतले नाकाबन्दी गरिरहेको छैन, तैपनि किन झुठो प्रचार ?
भारतले होइन चीनले चाहिँ नेपाललाई नाकाबन्दी गरिरहेको ‘सप्रमाण’ भारतले दावी गरेपछि उच्च सरकारी तहमा खैलाबैला मच्चियो । भारतले स्पष्ट सन्देश दियो, अरु नाका खुकुला पार्छौ तर रक्सौल नाका चाहिँ खोल्दै खोल्दैनौँ । नेपालको मुख्य नाका नै रक्सौल हो भने अरु खोल्नुको के अर्थ भयो ? नेपालको संविधान २०७२ संशोधनको प्रक्रिया चलिरहेको, मन्त्रिपरिषदले औपचारिक रुपमै स्वागत गरेको, नाका केही खुल्ला भएको अवस्थामा भारतीय संस्थापनले यस्तो अनौठो सन्देश पठाएपछि प्रधानमन्त्री ओली आत्तिए । भारतले मन्त्रिपरिषदको तीन बुँदे स्वागत गरेपछि पनि रक्सौल नाका नखोल्ने भनेपछि प्रधानमन्त्री ओलीले भारतले धोका दिएको अभिव्यक्ति दलीय बैठकमा दिए । रक्सौल नाका नखोल्ने र नेपालले नाकाबन्दी पनि भन्न नसक्ने अवस्थामा पु¥याउनका लागि भारतले दिएको तर्क हो ‘नेपाललाई चीनले पनि नाकाबन्दी गरिरहेको छ ।’ चीनसँगको नेपालको मुख्य नाका तातोपानी हो । भूकम्पपछि सो नाका बन्द छ ।
भारतले नाकाबन्दी लगाएपछि पनि चीनले तातोपानी नाका खोलेन । चीनले मुख्य नाका नखोल्दा चाहिँ नाकाबन्दी नहुने, हामीले रक्सौल नाका नखोल्दा कसरी नेपालमाथि नाकाबन्दी हुने ? भारतीय तर्क लगभग आधिकारिक च्यानलमार्फत प्रधानमन्त्री ओलीको कानमा पु¥याइएको समाचार साँघु साप्ताहिकले छापेको छ ।