२० पुष २०७२, सोमबार

धनगढी । चौथो चरणको दादुरा–रुबेला खोप अभियान ०७२÷७३ अन्तर्गत सुदूरपश्चिमाञ्चलका जन्मेदेखि पाँच वर्षमुनिका झन्डै तीन लाख ७६ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप दिइने भएको छ ।

आइतबार आयोजित अभिमुखीकरण कार्यक्रममा दादुरा–रुबेला खोप अभियानका संयोजक डा जगतनारायण गिरीले खोप अभियानका क्रममा सुदूरपश्चिमाञ्चलका नौ महिनादेखि पाँच वर्षसम्मका तीन लाख ७६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोपसमेत दिइन लागिएको जानकारी दिनुभयो ।

खोप पाउनेमध्ये सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा एक लाख चार हजार बालबालिका रहेका छन् ।सरकारले प्रत्येक चार वर्षमा अभियानकै रुपमा सञ्चालन गर्ने गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान यस वर्ष आगामी माघ २४ गतेदेखि सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबाट सुरु गर्न लागिएको हो ।

चौथो चरणको खोप अभियान देशभरिका जम्मा ६१ जिल्लामा सञ्चालन हुन लागेको बताइएको छ ।यसअघि भूकम्प प्रभावित १४ जिल्लामा योे अभियान सम्पन्न भइसकेको छ । बाल मृत्यु दर घटाउन सरकारले थालेको खोप कार्यक्रम प्रभावकारी देखिएको बताइएको छ । बाल स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार देशभरि चरणबद्ध रुपमा बालबालिकालाई दिइने खोपबाट ८७ प्रतिशत सफलता मिलेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्म यो रोग निवारण गर्ने लक्ष्य लिएकामा नेपालमा सन् २०१९ अर्थात् एक वर्षअगावै यो रोग निवारण गर्ने लक्ष्य लिइएको डा गिरीले बताउनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले अभियानलाई सफल बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो । रासस

 

LIVE TV