२० पुष २०७२, सोमबार

गोरखा । शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले चर्चित द्वन्द्वकालीन घटना फुजेल काण्डबारे सरकार नभई अब आयोग बोल्ने बताउनुभएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्री हुनुभएपछि पहिलो पटक गोरखा आउनुभएका ढकालले गोरखा सदरमुकाममा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिसकेको, आयोगको कार्यविधि समेत तयार भइसकेकाले सो लगायत द्वन्द्वकालका सबै घटनामा छानविन सुरु हुने बताउनुभयो ।

fujel

मन्त्री ढकालले भन्नुुभयो “म शान्तिमन्त्री भएसँगै आयोगको कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पेश गरिसकेको छु, अब यस्ता सबै घटनाबारे सोही कार्यविधि अनुसार आयोगले अध्ययन अगाडि बढाउँछ ।”

संयुक्त राष्ट्रसङ्घको बडापत्रमा प्रतिवद्ध देश नेपालमा यस्ता किसिमका घटना हुनु दुःखद् भएको भन्दै मन्त्री ढकालले शान्ति मन्त्रीका हैसियतले गङ्गामाया अधिकारीलाई छिटोभन्दा छिटो अनसन तोड्न आग्रह पनि गर्नुभयो ।

नयाँ संविधानका व्यवस्थाबारे गोर्खाली जनतालाई जानकारी दिन गोरखा आउनुभएका ढकालले जिल्ला विकास समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान राम्रो बनेको बताउनुभयो ।

संविधानले कसैलाई पनि काखा र पाखा नगरेको भन्दै उहाँले यसका प्रावधानबारे नबुझेकालाई बुझाउन सरकार लागेको बताउनुभयो ।

संविधानमा केही कुुरा चित्त नबुझेको भन्दैमा तराईमा हिंसात्मक कुरा हुनु निकै दुःखद् भएको ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा पनि असमतिहरू छन्, सबैका कुरा संविधानमा आएका छैनन्, यसलाई त सच्याउँदै जान सकिन्छ, त्यसैले बार्ताको टेबुलबाट समस्या समाधानका लागि सरकार प्रयासरत छ ।”

नेपालको निजी मामिलामा भारत वाधक बनेको भन्दै मन्त्री ढकालले कुनै पनि हालतमा भारतसामु सरकार नझुक्ने बताउनुभयो ।

वीरगञ्ज नाका बाहेकका अरु सबै नाका खुलिसकेकाले अब आपूर्ति व्यवस्था पनि सहज हुने मन्त्री ढकालको दाबी छ ।

“सरकारले छलफललाई पनि तीव्रता दिएको छ, भारतीय सरकार पनि अहिले सकारात्मक देखिएको छ, मोर्चा पनि केही लचक देखिएकाले एक साताभित्र सबै समस्याको समाधान भई नाकाबन्दी खुल्छ”, उहाँको दाबी छ ।- गोरखापत्र

 

LIVE TV