१९ पुष २०७२, आईतवार

बैशाख १२ को बिनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकमा यतिबेला अंशबण्डा गर्नेहरुको भिड ह्वात्तै बढेको छ । जिल्लाका विभिन्न गाविसबाट सयौंका संख्यामा स्थानीयवासी अंशबण्डाको लागि जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा पुग्ने गरेका छन् । जिल्ला मालपातो कार्यालयमा यतिबेला सिन्धुपाल्चोकका विभिन्न गाविसबाट अंशबण्डाका लागि बस रिर्जभ गरेरै सेवाग्राहीहरु आउन थालेका छन् । भुकम्प पीडितहरुलाई सरकारबाट प्रदान गर्ने सेवा सुविधा पाउँनका लागि सर्वसाधारणहरु अंशबण्डाको लागि मलापोत र नापीमा आउँने गरेका हुन् ।
अंशबण्डा,लिखत बदर,राजीनामा,छोडपत्र जस्ता जग्गाको काम लिएर भूकम्प पीडितहरु मालपोत कार्यालयमा आउन थालेपछि कर्मचारीहरुलाई समेत यतिबेला भ्याइ नभ्याइ भएको छ । कर्मचारीहरुले विभिन्न वहानमा सेवाग्राहीहरुको काम समयमा नै नगरेपछि सर्वसाधारणहरु चार दिनसम्म पनि सदरमुकाम बस्नु पर्ने बाध्यता रहेको छ । समयमा नै काम सम्पन्न नगरे सेवाग्राहीहरुलाई क्षतिपुर्ति सहितको सेवा दिनुपर्ने मालपोत कार्यालयको वडापत्रमा नै उल्लेख गरेपनि क्षतिपुर्ति भन्दा पनि काम गरिदिएबापत सेवाग्राहीहरुले मालपोत र नापीमा अतिरिक्त शुल्क समेत तिर्नू परेको सेवाग्राहीहरुले गुनासो छ । लिस्ती, बरुवा,गुम्बा गोल्चे लगायतका जिल्लाका विकट गाविसबाट र्अंशबण्डाका लागि आएका सेवाग्राहीहरु चार दिनसम्म पनि काम नभएपछि सदरमुकाममै बसिरहेका छन् ।सेवाग्राहीहरुको चाप बढेपछि काममा ढिलाई भएको नेपाल लेखापढी व्यवसायी संघका जिल्ला अध्यक्ष इन्द्रलोचन धितालले बताउनु भयो । जिल्ला मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमिल्सिना भने यस अघि भुकम्प पीडित परिचयपत्रहरु लिएका र संगोलमा नै रहेकाहरु यतिबेला अंशबण्डाको लागि आएको बताउनु हुन्छ । मालपोत कार्यालयमा मात्रै नभई नापीमा पनि जग्गा कित्ताकाट गर्नेहरुको त्यस्तै भिड रहेको छ । भूकम्प पीडितहरुलाई सरकारले दिने सुविधाकै लागि अहिले अंशबण्डा गर्नेहरुको भिड लागेको जिल्ला नापी कार्यालयका प्रमुख इन्जिनियर शरदचन्द्र मैनालीले जानकारी दिनुभयो । पहिले दैनिक चार वटासम्म अंशबण्डाको काम हुने गरेपनि अहिले भने बढेको तिमिल्सिना बताउनु हुन्छ । जिल्ला मालपोत कार्यालयमा साउन १ देखि पुस दोस्रो सातासम्म ५ सय ३३ थाना अंशबण्डा भएको छ । त्यस्तै २ सय ८० थाना बकसपत्र, १२ सय १० राजीनामा,छोडपत्र,सट्टपट्टा लिखत बदर १ सय ९ थान रहेको छ । यो अवधिमा सबै गरी २१ सय ३२ थान पारित भएको छ । गत बर्षको तुलनामा यो संख्या दुइ तिहाई भन्दा बढी हो ।

LIVE TV