
चिसो निकै बढेपछि धादिङका भूकम्प पीडितहरु मारमा परेका छन् । भूकम्पले घर पूर्णरुपमा क्षति भएका धादिङका अधिकांश चेपाङहरुको चिसो छल्ने माध्यम नै यतिखेर आगो बनेको छ । धादिङको पिडा गाविस ६ स्यामे डाडाँस्थित यो गाउँ चेपाङहरुको बाक्लो बस्ती भएको ठाउँ हो । सामान्य अवस्थामा पनि आवास र खानेकुराको समस्या भोग्दै आएका यहाँका चेपाङहरु भूकम्पपछि सबै घरविहीन बनेका छन् । गर्मियाममा सरकारले दिएको त्रिपालमा जसोतसो जीवन गुजारेका उनीहरुलाई जाडो छल्न भने निकै कठिन बनेको छ । सरकारले र दाताले दिएका जस्तामुनि जाडो याममा न्यानो कपाडा नहुँदा उनीहरु अहिले दाउरा बालेर बस्ने गरेका छन् । आगो तापेकै भरमा रात बिताउन निकै समस्या हुने गरेको पीडितहरुको गुनासो रहेको छ । यतिखेर धादिङका ग्रामीण भेगका अधिकांश बालबालिका र बृद्धबृद्धाहरु बारीको पाटामा आगो तापेरै बस्न बाध्य भएका छन् । सरकारले दिने भनेको न्यानो कपडा किन्ने रकम गाउंमा कहिले आउने हो भन्दै उनीइहरु व्यग्र प्रतीक्षामा छन् । टिनको छाप्रोमा चिसोका कारण शीत पर्ने र रातभर तपतप चुहिने पानीबाट कसरी जोगिने भन्ने एकै खालको पीडा सबैजनामा छ ।