१९ पुष २०७२, आईतवार

रौतहट। नेकपा ९एमाले०का सचिव योगेश भट्टराईले तराई मधेसमा भएको अशान्तिले मुलुक अत्यन्तै समस्यामा परेको बताउनुभएको छ ।

एमाले रौतहटद्वारा आज चन्द्रनिगाहपुरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसमा जारी आन्दोलनका क्रियाकलाप अविलम्ब अन्त्य गर्नुपर्ने बेला आएको बताउनुभयो ।

madheshi

उहाँले तराई मधेसमा जारी आन्दोलनका कारण सबैभन्दा बढी घाटा तराईवासीले बेहोर्नुपरेको भन्दै आन्दोलनका नाममा विद्यालय, कलकारखाना बन्द हुनु भनेको मुलुकको भविष्य नै चौपट पार्नु कतिसम्म जायज हो, अनिश्चितताको यस्तो अवस्था अब अन्त्य हुनुपर्छ भन्नुभयो ।

उहाँले नयाँ संविधानबारे तराई मधेसका जनतालाई दिग्भ्रमित पार्न खोजिएको भन्दै भ्रम चिर्नका लागि एमालेले संविधानबारे तीनमहिने प्रचारात्मक अभियान सुरु गरेको जानकारी दिनुभयो ।

यसैगरी एमाले केन्द्रीय कमिटी सदस्य विरोध खतिवडाले वर्तमान संविधानमा मधेसी जनताको अधिकार नभएको भन्नु हास्यास्पद भएको भन्दै संविधान सधैँ परिवर्तनशील रहने भएकाले मधेसी मोर्चाले आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।

सभासद् डा वंशीधर मिश्रले संविधान कुनै ‘बाइबल’, ‘कुरान’ वा ‘रामायण’जस्तो नभई सधैँ समयसापेक्ष परिवर्तनशील हुने बताउनुभयो ।

एमाले रौतहटका अध्यक्ष कमलराय यादवले अध्यक्षता गर्नुभएको सो भेलामा सभासद् लालबाबुराय यादव, रामकुमार भट्टराई, एमालेका केन्द्रीय सदस्य कल्याणी खड्कालगायतले बोल्नुभएको थियो । रासस

 

LIVE TV