
अविरल बहिरहेछ तामाकोसी नदी। नदी छेउमा छ पिछडिएका माझीको बस्ती। बीचबाट घुसेको चरिकोट–मन्थली पक्की सडकले सुगम गाउँको झल्को दिए पनि कच्याककुचुक जस्ता, जाली तार र बाँसका चोयाले बनेका माझीका टहरोले त्यसलाई असत्य सावित गरिरहेको छ।
एकसरो लुगाले लाज ढाकिरहेका माझी मध्यदिनमा पनि टहरो अघि सुतेर घाम तापिरहेका छन्। बेला बेलामा तामाकोसीबाट दगुर्दै आउने सिरेटोले तातेको शरीर क्षणभरमै चिस्याइदिन्छ। नागरिक दैनिकमा समाचार छ ।
टहारो नजिक सडक किनारामा पराल ओछ्याएर उमेरले ३० वर्ष नाघेका शंकर कल्याणी माझी दम्पती तीन लालाबालासहित घाम ताप्न मग्न छन्। तातेको शरीर सिरेटोले चिस्याउँदा उनीहरु बारम्बार परालमै मडारिन्छन् ।
‘भूकम्पले घर ढाल्यो। नदीमा माछा पाइन छाड्यो, जुरुक्कै उठ्दै ३१ वर्षीय शंकरले भने,‘सधैका पीडित हामीलाई यो पाल भुइचालोले जाल हान्यो।’