
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ शक्तिलाई चाँडै राजनीतिक पार्टीमा रुपान्तरण गर्ने तयारीमा आफू रहेको बताउनु भएको छ । उहाँले नयाँ शक्तिलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्न अहिले आफू सबै पक्षसँगको छलफलमा रहेको बताउनुभयो । मुलुकको विद्यमान समस्याको समधानको लागि दवाव दिन रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापन पत्र बुझ्दै भट्टराईले आर्थिक विकासमा राजनीतिक हस्तक्षेप गर्न पनि पार्टीको रुपमा रुपान्तरण गर्नै पर्ने आवश्यकता रहेको औल्याउनु भयो । मुलुकको आर्थिक विकासमा राजनीतिक रुपमा हस्तक्षेप नगरे त्यो अघि बढ्न नसक्ने तर्क गर्दै उहाँले नयाँ पार्टीले बैकल्पिक शक्तिको रुपमा भ्रष्टाचार मुक्त भएर आर्थिक विकास र समृद्धिकोलागि काम गर्ने बताउनु भयो ।
एकीकृत नेकपा माओवादीका पूर्व उपाध्यक्ष भट्टराईले एकीकृत माओवादीमा पुनः फर्किने सम्भावना खारेज गदपुरानोले नहुने भएर नयाँ शक्तिको आवश्यकता भएको बुझ्न सबैले आवश्यक रहेको बताउनु भयो । उहाँले समानुपातिक समावेशीता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरामा मोटामोटी सहमति बनिसकेको उल्लेख गर्दै मुल समस्या सीमांकनमा रहेकोले अहिले नै सहमतिमा गरेर गए राम्रो हुने बताउनुभयो । सीमांकन तत्काल टुङग्याउँदा राम्रो हुने चर्चा गर्दै भट्टराईले त्यसो गरे झगडाको बिऊ बाँकी नरहने पनि बताउनुभयो । सीमांकनमा समस्या चाँडै नटुंगिए मधेस आन्दोलन राजनीतिक दलको हातबाट अरु तिर जाने खतरा रहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।