
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सीमांकनलाई जथाभावी चलाए पुनः विवाद हुने भएकाले जनताको राय सुझाव लिने गरी तीन महिनाको समय उपयुक्त हुने बताउनु भएको छ । शनिबार विराटनगरमा संचारकर्मीहरुसंग नेता नेपालले सीमांकनको विवाद राजनैतिक समिति मार्फत टुङ्ग्याउने गरी मधेसी मोर्चासंग वार्ता र सम्वाद गर्नुपर्ने र एउटा सहमतिमा पुग्नु पर्ने बताउनु भयो । उहाँले नेपालका राजनीतिक दलहरु बीच नै वार्ता र सहमतिबाट समाधान खोज्नु पर्ने बताउदै भारतको अनावश्यक परामर्श लिने कार्य त्याग्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
नेता नेपालले सरकारले सम्भव हुने कुरा मात्र गरेर जनताको समस्या समाधानमा जुट्नु पर्ने बताउदै अनावश्यक रुपमा बढी बोल्ने कार्यले संकट ल्याउने विचार व्यक्त गर्नुभयो । उहाँले मन्त्रालय टुक्र्याउने कार्य गलत भएको टिप्पणी गर्दै यसबारे पार्टीमा छलफल गरिने जानकारी दिनुभयो ।