
धनुषाको पुष्पवलपुर गाविसमा गएराति काठ तस्करहरुले वन कर्मचारीमाथि आक्रमण गरेको छ । आक्रमणबाट वन कर्मचारी सहित ४ जना घाईते भएका छन् । काठ तस्करहरुले धनुषाको उत्तरी वन क्षेत्रको जंगलबाट ट्याक्टरमा सखुवा काठ तस्करी गरिरहेको सूचनाको आधारमा वन कर्मचारी सहित जलाद सांझेदारी वनका पदाधीकारीहरुले अवैध रुपमा ल्याउंदै गरेको काठ नियन्त्रणमा लिएका थिए । काठ नियन्त्रणमा लिए लगत्तै तस्करहरुले हातहतियार सहित वन कर्मचारीमाथि आक्रमण गरेको हो । आक्रमणबाट सेक्टर वन कार्यालय पुष्पवलपुरका इन्चार्ज विष्णु यादव, जलाद साँझेदारी वनका अध्यक्ष श्याम लाल महतो, पोष्ट बहादुर गिरी, समिति सदस्य महेन्द्र महतो लगायतका वन कर्मचारी तथा साँझेदारी वनका पदाधीकारीहरु घाईते भएको जिल्ला वन कार्यालय धनुषाका डीएफओ वीरेन्द्र साहले जनाएको छ ।
घाईते मध्ये महेन्द्र महतोको अवस्था गम्भीर रहेको छ । तस्करहरुले कर्मचारीहरु सवार ज ६ प ८४२१, ज ७ प ७०२७ र ज ५ प ४७४ नम्बरको मोटरसाईकल तोडफोड गरेका छन् । यसका साथै पुष्पवलपुरमा रहेको इलाका वन कार्यालयमा समेत तोडफोड गरेको ढल्केवर ईलाका प्रहरी कार्यालयले जनाएको छ । आक्रमण पछि तस्करहरुले उक्त काठ आफैसंग लिएर गएका छन् । काठ तस्कर हरि विष्णु खनाल नेतृत्वको समूहले हातहतियार सहित जथाभावी आक्रमण गर्न थालेपछि वन रक्षकले ३ राउण्ड हवाई फायर गरेर ज्यान जोगाएको सेक्टर वन कार्यालय पुष्पवलपुरका इन्चार्ज विष्णु यादवले जनाएका छन् ।