एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानत्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संगको वार्ता अन्तिम चरणमा पुगेकाले चाडै नै सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आइतवार हुने तीन दल र मधेसी मोर्चाको औपचारिक वार्ताले मोर्चाको माग सम्बोधन गर्ने समझदारी भए हुने पनि बताउनु भएको छ । शनिवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष दाहालले मधेसी मोर्चाले पटक पटक माग थप्ने गरेकाले पनि समस्या आएको बताउदै मोर्चा केही लचक बने सहमति हुने जानकारी दिनुभयो । अध्यक्ष दाहालले समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण बारे सहमति बनिसकेको भएपनि सीमांकनको विवाद जतिसक्दो चाँडो राजनैतिक समिति वा संसदीय समिति बनाएर टुङ्ग्याउन सकिने गरी सहमति हुन सक्ने जानकारी दिनुभयो ।
एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले सरकार र आफ्नै मंत्रीहरुको कामकारवाही बारे पार्टीमा छलफल गरेर काम गर्न नसक्नेलाई सरकारबाट फिर्ता बोलाइने जानकारी दिनुभयो । उहाँले कसैलाई पनि मन्त्री बन्नैका लागि सरकारमा नपठाइएकोले जनताको आकांक्षा र भावना अनुसार काम गर्न मंत्रीहरुलाई निर्देशन दिनुभयो ।
भारत भ्रमणका क्रममा हिन्दु राष्ट्र राख्ने सहमति बनेको थियो भन्ने प्रश्नमा अध्यक्ष दाहालले बिजेपीको एक नेतासंग धार्मिक स्वतन्त्रता र धर्म परिवर्तन बारे कुरा भएको र त्यसलाई संविधानले सम्बोधन गरेको जानकारी दिनुभयो ।