१८ पुष २०७२, शनिबार

बनेपा । जिल्ला अदालत काभ्रेपलाञ्चोकले तेल ठगी प्रकरणमा पक्राउ परेका दुई जनालाई शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

petrolpump

न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले थप अनुसन्धानका लागि भन्दै उपभोक्ता ठगी महल ४ अनुसार सो आदेश दिएको हो ।

पक्राउ परेका काभ्रेपलाञ्चोक, पाँचखाल आयल स्टोरका सञ्चालक वसन्तकिसन पौडेल र मात फ्युल सेण्टरका सञ्चालक राजेन्द्रप्रसाद गौतमलाई थुनछेक बहसपछि थुनामा राख्न आदेश दिइएको छ ।

अभियुक्त पेट्रोल पम्पमा उपकरण जडान गरी उपभोक्तालाई पौडेलले रु. ६७ लाख र गौतमले रु. ४९ लाख ठगेको प्रहरीले अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यस अघि पुर्पक्षका लागि थुनामा रहेका उग्रचण्डी आयल स्टोरका सञ्चालक आत्मराम थापालाई रु. ३९ लाख बराबरको ठगी गरेको प्रहरीले अनुसन्धानमा देखाएको छ ।

झण्डै एक महिना अघि तेल ठगी प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो भने अझै दुई जना फरार छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV